• २० वैशाख २०८१, बिहिबार

अतिथि सदनमा सामूहिक विवाह

blog

शशिधर पराजुली

विराटनगर, वैशाख ६ गते। विवाह, व्रतबन्ध तथा अरू थुप्रै सामाजिक कार्यक्रम भइरहने विराटनगरको अतिथि सदनमा बिहीबार गाउँतिरबाट आएका आदिवासी समुदायका मानिसहरूको बाक्लो उपस्थिति थियो। धेरैजना जहदा गाउँपालिकाका विभिन्न टोलबाट त्यहाँ भेला भएका थिए। उपस्थितमध्ये कोही जन्तीका रूपमा आएका थिए भने कोही कन्यादान गर्न उपस्थित थिए। 

अतिथि सदनमा विवाहका लागि ठुलो पण्डाल टाँगिएको थियो। बाजागाजासहित विवाहको माहोलमा सबै रमाइरहेका थिए। सतार समुदायको सांस्कृतिक टोलीले बाजा बजाइरहेको थियो भने महिला सांस्कृतिक नाचमा मग्न थिए। विवाहस्थलको झकिझकाउ हेर्दा लाग्थ्यो त्यहाँ उच्च आर्थिक हैसियत भएको कुनै परिवारको विवाह भइरहेको छ। त्यहाँ तयार पारिएका भव्य द्वारदेखि मञ्चको अवस्थाले पनि त्यस्तै महसुस हुन्थ्यो। विवाह स्थलमा भव्य मञ्च र परिसरमा १५ वटा मण्डप थिए। जहाँ पन्ध्र जोडी युवाको छुट्टाछुट्टै मण्डपमा आ–आफ्नो संस्कृतिअनुसार विवाह भइरहेको थियो। 

मण्डपमा सन्थाल समुदायका १३, चौधरी र राजवंशी समुदायका एक/एक जोडीको विवाह गरिएको थियो। यो सामूहिक विवाहको आयोजना माहेश्वरी मञ्चले गरेको हो। आर्थिकरुपमा विपन्नलाई छोराछोरीको विवाह पारिवारिक जिम्मेवारीसँगै आर्थिक बोझ उठाउने बाध्यता पनि हो। सामूहिक विवाह कार्यक्रम यो बाध्यताबाट छुटकारा पाउने उपाय हुनसक्छ भन्ने सन्देश दिने उद्देश्यले माहेश्वरी महिला मञ्चले कार्यक्रम आयोजना गरेको हो। 

मञ्चले समाजसेवी अर्चना तापडियालाई संयोजक बनाएर सामूहिक विवाह समारोह आयोजना गरेको थियो। तापडियाको सक्रियता र समन्वयले सामूहिक विवाह गर्ने प्रस्तावमा जहदा गाउँपालिका सकारात्मक बनेपछि वडाध्यक्षको सहयोगमा विवाह गर्न योग्य जोडीको खोजी भएको थियो। वडाध्यक्षको सहयोगमा १५ जोडी सामूहिक विवाहका लागि तयार भएका थिए। दुवै पक्षको सहमतिमा उनीहरूलाई विवाह कार्यक्रममा सहभागी गराइएको थियो। विवाह गर्ने सबै २० वर्ष उमेर पूरा गरिसकेका छन्। यसले तराई क्षेत्रमा बसोबास गर्ने आदिवासीमा व्याप्त बालविवाह गर्ने प्रवृत्तिविरुद्धको जनमत तयार पार्न पनि महत्त्वपूर्ण सहयोग गर्ने आयोजकको विश्वास छ। 


सामूहिक विवाह गर्दा लाग्ने सबै खर्च माहेश्वरी महिला मञ्चले बोहोरेको थियो। सबै बेहुलीका लागि एक थान सुनको तिलहरी, टप, फुली, चाँदीको पाउजु बिछियादेखि लत्ता कपडा आयोजकले किनिदिएको छ। त्यस्तै हरेक नवजोडीका लागि पलङ, दराज, कुर्सी, डसना, सिरक, सुटकेशदेखि भान्छामा प्रयोग हुने एकसरो सामान पनि उपहारको रूपमा प्रदान गरिदिएको छ। उनीहरूको नाममा सेन्चुरी बैङ्कमा ११ हजार रुपियाँको मुद्दती खाता खोली दिएको माहेश्वरी महिला मञ्चकी अध्यक्ष पुनम राठीले जानकारी दिनुभयो। 

‘आजको महँगीमा छोराछोरीको विवाह गरिदिन सबै परिवारका लागि सजिलो छैन। सामाजिक परम्परा र प्रचलनको बाध्यतामा परेर विपन्न वर्गका मानिसले चर्को आर्थिक बोझ बोक्नुपर्ने बाध्यता छ त्यसैले हामीले सामूहिक विवाह गरी सहयोग गर्ने सोच अगाडी सारेका हौँ र यसबाट यस्ता सांस्कृतिक कार्यहरू सामूहिक रूपमा गरी खर्च कटौती गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह हुन सकोस्,’ मञ्चकी अध्यक्ष राठीले भन्नुभयो।

जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्र साहले सामूहिक विवाह कार्यक्रमबाट आफू अत्यन्तै प्रभावित बनेको बताउनुभयो। सामूहिक विवाहमा मञ्चले झण्डै ३० लाख रुपियाँ खर्च गरेको थियो। ५०० जना भन्दा बढी विवाह भोजमा सहभागी थिए।