• ११ मंसिर २०८१, मङ्गलबार

एसइईपछिका तीन महिना

blog

एसइई परीक्षा दिएका पाँच लाख विद्यार्थी चैत २७ पछि तीनमहिने फुर्सदमा छन् । विद्यालय जीवन सुरु भएदेखि यति लामो शैक्षिक बिदामा बसेको ती विद्यार्थीका लागि जीवनमा पहिलो पटक हो । यो परीक्षा दिएर बसेका विद्यार्थीले अब आफू स्वतन्त्र भएको महसुस गर्छन् । उनीहरूको मनोभाव नै यस्तो निर्माण भइरहेको हुन्छ । एसइई दिएर बसेका हरेक विद्यार्थीको जीवनमा भने यो तीन महिना निकै महत्वपूर्ण हुन्छ । यो समयलाई सदुपयोग गरेर कैयौँ विद्यार्थीले भविष्यमा आफूले पढ्ने विषयमा आधार तय गर्छन् भने कतिपयले आफूले पालेका सौख पूरा गर्छन् । कतिपयले के गर्ने भन्ने भेउ नपाएरै त्यसै समय बिताउँछन् । जसले जे गरे पनि जस्तो गरे पनि विद्यार्थीले केही न केही गरेर यो समयलाई व्यतीत गर्नु पर्छ । 

यो समयमा आफ्ना बालबालिकाले के गरिरहेका छन् र के गर्नु पर्ने हो भन्ने बारेमा अभिभावक वर्गसमेत चनाखो हुनु पर्छ । बालबालिकाले यो समयमा केही गर्नका लागि गतिलो आधार भेटाएनन् भने उनीहरू कुलत या गलत बाटोमा लाग्ने अवस्था आउन सक्छ । खाली समय हुने भएको हुँदा कतिपय बालबालिकाले यो समयमा मोबाइलको अधिकतम प्रयोगसमेत गर्छन् । लामो समयसम्म मोबाइल हेर्दा उनीहरूमा यसको लतसमेत लाग्न सक्छ । यस्ता कुराबाट छुटकारा पाउनका लागि बालबालिका कुनै न कुनै काममा सहभागी हुनु पर्छ । बालबालिकाले पनि यो समयमा आफूलाई सृजनात्मक कार्यमा बढी लगाउनु पर्छ । एसइईपछिको समयलाई आफ्नो भविष्य निर्माणको आधार बनाउनका लागि आफैँ नै तम्तयार हुनु पर्छ । खास गरेर यो समयमा अभिभावक र स्वयम् बालबालिकाले पनि समयको सही सदुपयोग गर्नका लागि निम्न कुरामा विशेष ध्यान दिनु पर्छ । 

सिप विकास

बालबालिकाले यो समयमा आफूलाई मन पर्ने विषयका सिप सिक्न सक्छन् । जुनसुकै सिप भए पनि मानव जीवनका लागि सिपको महत्व धेरै नै हुन्छ । यसले मानिसलाई आत्मनिर्भर बनाउनुका साथै उद्यमशील बनाउन पनि मद्दत गरिरहेको हुन्छ । विभिन्न सङ्घ संस्थाले यो समयमा छोटो अवधिका सिपमूलक तालिम प्रदान गरिरहेका हुन्छन् । या घरमै पनि विद्यार्थीले परिवारबाट विभिन्न खालका सिप सिक्न सक्छन् । विद्यार्थीले आफ्नो रुचिको विषयको सिप सिकेर जीवनभर त्यसबाट फाइदा लिन सक्छन् । हाम्रो शिक्षा प्रणाली पनि सिपमूलकभन्दा सिद्धान्तमा बढी केन्द्रित भएको हुँदा सिप सिक्नका लागि यो समय निकै उपयोगी हुन्छ । सामान्यभन्दा पनि सामान्य खालका सिप विद्यार्थीले यस समयमा सिक्नका लागि तयार हुनु पर्छ । मोबाइल मर्मत, बेकरी आइटम निर्माण, सूचना प्रविधिसम्बन्धी, कम्प्युटर सञ्चालन र मर्मत, उद्घोषणलगायतका विभिन्न सिपमूलक तालिम प्राप्त गरियो भने यसले बालबालिकालाई एकातिर बरालिन दिँदैन भने अर्कातिर उनीहरूलाई व्यस्त पनि बनाइराख्छ । यसका साथै सामान्य पकाउने या घरायसी विभिन्न खालका काम गर्ने सिप पनि घरपरिवारमै बालबालिकालाई सिकाउन सकिन्छ । 

ब्रिज कोर्स

विद्यार्थीले माथिल्लो तहमा आफूले अध्ययन गर्न चाहेको विषयमा गतिलो आधार निर्माण गर्नका लागि ब्रिज कोर्स लिनुपर्ने हुन्छ । यस्ता कोर्स विद्यार्थीले आफ्नो रुचि र सपना अनुसारका हुनु पर्छ । ब्रिज कोर्स अपरिहार्य कुरा नभए पनि आफूलाई जटिल लाग्ने खालका विषयमा विद्यार्थीले अतिरिक्त कक्षा लिनु पर्छ । खास गरेर विभिन्न प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले यस्तो कक्षा लिनु नितान्त आवश्यक मानिन्छ । धेरै प्रतिस्पर्धा हुने कार्यक्रिममा अध्ययन गर्नका लागि प्रवेश परीक्षामा नाम निकाल्नै पर्ने बाध्यात्मक अवस्था हुन्छ । यसका लागि पनि ब्रिज कोर्सको आवश्यकता पर्छ । अचेल ब्रिज कोर्सका नाममा अभिभावकले विद्यार्थीलाई पढ्नका लागि दबाबसमेत दिएको देखिन्छ तर विद्यार्थीले ब्रिज कोर्सको आवश्यकता महसुस नगरेको खण्डमा भने अभिभावकले यस्तो दबाब दिनु उचित हुँदैन । अत्यावश्यकबाहेक ब्रिज कोर्सले विद्यार्थीलाई किताबबाट किताबसम्म मात्रै लैजाने गर्छ ।

अभिरुचिपूर्ण कार्य

बालबालिकालाई अध्ययन सँगसँगै विभिन्न खाले विषयमा अभिरुचिसमेत हुने गर्छ । खास गरेर अध्ययन बाहिरका अतिरिक्त क्रियाकलापमा रुचि राख्ने विद्यार्थीले आफ्नो अभिरुचिको कुरालाई अगाडि बढाउनका लागि पढाइको चापका बिचमा सकिरहेका हुँदैनन् । यो खाली समयमा उनीहरूलाई यस्ता अभिरुचिका कुरा सिक्न दिनु पर्छ । कतिपय विद्यार्थीमा गीत गाउँने अभिरुचि हुन्छ भने सङ्गीतका कक्षा लिनु पर्छ । कतिपयलाई चित्रकला, कतिपयलाई खेलकुद, कतिपयलाई साहित्य लेखनलगायतका विभिन्न सृजनात्मक कार्यम अभिरुचि हुन्छ । त्यसैले यस्ता कार्यमा एसइई दिएर बसेका विद्यार्थीले सिक्न सक्छन् । यसले विद्यार्थीमा अतिरिक्त क्षमता अभिवृद्धि गर्न विशेष भूमिका निर्वाह गर्छ । 

पुस्तक अध्ययन

विद्यार्थीका लागि विभिन्न विषयसँग सम्बन्धित आख्यान तथा गैरआख्यानका पुस्तक अध्ययन गरेर ज्ञान र मनोरञ्जन हासिल गर्नका लागि पनि यो समय अत्यन्त उपयुक्त मानिन्छ । विभिन्न साहित्यका हुन् या अन्य विषयसँग सम्बन्धित पुस्तक नै किन नहुन् जे पढे पनि विद्यार्थीमा पुस्तक पढ्ने बानीको विकास हुन्छ । विभिन्न विधासँग सम्बन्धित पुस्तकले विद्यार्थीलाई मनोरञ्जनका साथै ज्ञान र पनि दिन्छ । पुस्तक अध्ययन गर्दा कस्ता खालका पुस्तकलाई प्राथमिकता दिने भन्ने कुराका बारेमा विद्यार्थीले अभिभावक या अन्य जान्ने मानिससँग जानकारीसमेत लिनु पर्छ । सबै पुस्तकले ज्ञानको दायरालाई फराकिलो नपार्न सक्छ । 

यात्रा गर्ने

यात्राले नयाँ ठाउँ र परिवेशका बारेमा जीवन्त जानकारी दिने गर्छ । विभिन्न धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पर्यटकीयलगायत विविध पक्षले महत्वपूर्ण मानिएका ठाउँको यात्रा गरेर विद्यार्थीले आफैँले त्यसको बारेमा जानकारी लिन पाउँछन् । यात्रा गर्नका लागि टाढा टाढाको ठाउँ नै रोज्नु पर्छ भन्ने छैन, आफ्नै वरपरका ठाउँको पनि भ्रमण गरेर जानकारी लिनु पर्छ । यसरी आफूले भ्रमण गरेका ठाउँका बारेमा दैनिकी लेख्ने बानीको पनि विकास गर्नु पर्छ । यसले पछिसम्म आफूले भोगेका कुरालाई ताजा बनाएर राख्छ । 

आफन्तसँग भेट र चिनजान 

आजभोलि एकल परिवारको बाहुल्यता बढ्दै गएको छ । एकल परिवारका कारण बालबालिकाले आफन्तीको बारेमा जानकारी पाएका हुँदैनन् । साथै चिनजान पनि गर्न पाएका हुँदैनन् । नजिकका आफन्तसँग पनि बालबालिकाको चिनजान हुन पाएको हुँदैन । यो समयमा विद्यार्थीले आफन्तसँग भेटघाट गरेर सम्बन्ध प्रगाढ बनाउन सक्छन् । आफन्तको घरमा जाने र उनीहरूसँग पारिवारिक कुराकानी गर्ने कुराले बालबालिकाको मनोविज्ञानमा सकारात्मक प्रभाव पर्छ । बालबालिकालाई आफन्तीसँग रमाउनका लागि भने अभिभावकले विशेष भूमिका निर्वाह गर्नु पर्छ । 

समय भन्ने कुरा त्यसै पनि बितेर गइहाल्छ तर यसलाई सदुपयोग गर्न सक्यौँ भने यसले भविष्यमा धेरै कुरामा सहजता थप्ने गर्छ । बालबालिकाले यो समयमा सिकेको कुराले उनीहरूको जीवनलाई दिशानिर्देश गर्छ । खाली समयमा केही न केही सिक्नु पर्छ भनेर अभिभावकले बालबालिकालाई दबाबभन्दा पनि उत्प्रेरणा दिनु पर्छ । उनीहरूको अभिरुचि बेगर अनावश्यक दबाब हामीले दिन थाल्यौँ भने त्यसले सकारात्मकभन्दा नकारात्मक परिणाम प्राप्त हुन सक्छ । त्यसैले एसइई दिएर बसेका विद्यार्थी र अभिभावकबिच समन्वय हुनु पर्छ । समयको सदुपयोग गर्नका लागि अभिभावकले आफ्ना बालबालिकालाई नै के गर्ने भनेर प्रश्न गरौँ ? उनीहरूलाई राम्रो काम रमाइ रमाइ गर्नका लागि उत्प्रेरित गराैँ ।

Author

वसन्त आचार्य