• १३ जेठ २०८१, आइतबार

‘महालेखापरीक्षकको कार्यालयलाई सङ्घीयता अनुरूप पुनर्संरचना गर्छौँ’

blog

मङ्गलबार बसेको संसदीय सुनवाइ समितिको बैठक । तस्बिर : गोरखापत्र

काठमाडौं, वैशाख ४ गते । प्रस्तावित महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको कार्यालयलाई सङ्घीय शासन प्रणाली अनुरूप पुनर्संरचना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मङ्गलबार संसदीय सुनवाइ समितिको बैठकमा उहाँले आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

रायाले लेखा सम्परीक्षणको कामलाई सहज बनाउन, पारदर्शी बनाउन र कम खर्चिलो बनाउन पनि महालेखापरीक्षकको कार्यालय सङ्गठन सङ्घीय ढाँचा अनुरूप अघि बढाउन आवश्यक रहेकाले आफूले सो कामलाई पहिलो प्राथमिकतामा राख्ने जानकारी दिनुभयो ।

‘‘सबभन्दा पहिले स्वतन्त्रता र संस्थागत सुदृढीकरण । यसमा मैले राखेको विषय चाहिँ परिवर्तित सङ्घीय शासन प्रणाली अनुरूप महालेखा परीक्षकको कार्यालयको सङ्गठनको पुनर्संरचना गरिने । अघि मैले माथि नै अनुरोध गरिसकेको छु । प्रदेशमा सार्वजनिक लेखा समिति छ । स्थानीय तह दुरदराजमा छन् । अब केन्द्रमा मात्रै बसिरहेर त्यो बेरुजु र लेखा सम्परीक्षणको काम गर्नलाई खर्चिलो पनि भएको छ ।,’’  प्रस्तावित महालेखापरीक्षक रायाले भन्नुभयो, ‘‘कठिन पनि भएको छ । र त्यो दूरदराजको समस्या बुझन पनि गाह्रो भएको छ । त्यसकारण यसको पुनर्संरचना गर्नुपर्छ कि भनेर मैले राखेको छु । त्यसैगरी अर्को विषय छ–सार्वजनिक लेखा परीक्षणलाई गुणस्तरीय, जबाफदेही र निष्पक्ष बनाई नीतिगत आधारहरू तय गरिने ।’’

उहाँले सार्वजनिक लेखा परीक्षणलाई गुणस्तरीय, जबाफदेही र निष्पक्ष बनाई नीतिगत आधारहरू तय गर्ने र लेखा परीक्षणका लागि विद्यमान रणनीतिक योजनाको कार्यान्वयनमा जोड दिने पनि बताउनु भयो । वित्तीय अनुशासन पालना गर्न, गराउन सरोकारवाला सबै पक्षसँग अन्तरक्रिया, समन्वय, सहकार्य र सम्बन्ध विस्तार गर्ने, पूर्व महालेखापरीक्षक एवम् पूर्व कर्मचारीहरूसँग अनुभवको आदानप्रदान तथा सुधारका विभिन्न पक्षहरूमाथि निरन्तर छलफल चलाउने र प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने पनि प्रस्तावित महालेखापरीक्षक रायाको कार्ययोजना रहेको छ ।

प्रस्तावित महालेखापरीक्षक रायाले भन्नुभयो, ‘‘लेखा परीक्षणका लागि विद्यमान रणनीतिक योजनाको कार्यान्वयन, भावी रणनीतिक योजनाको तयारी, निर्माण र कार्यान्वयन गरिनेछ । वित्तीय अनुशासन पालना गर्न, गराउन सरोकारवाला सबै पक्षसँग अन्तरक्रिया, समन्वय, सहकार्य र सम्बन्ध विस्तार गरिनेछ । पूर्व महालेखापरीक्षक एवम् पूर्व कर्मचारीहरूसँग अनुभवको आदानप्रदान तथा सुधारका विभिन्न पक्षहरूमाथि निरन्तर छलफल चलाइनेछ । र सुझाव लिएर त्यसलाई कार्यान्वयनमा लगिनेछ । आन्तरिक संस्थागत सुदृढीकरण गर्न सार्वजनिक लेखा समिति, संवैधानिक निकाय, नागरिक समाज, निजी क्षेत्र, तीन वटै तहका सरकार, संसद्, आन्तरिक लेखा परीक्षण गर्ने निकायसँग समन्वय र सहकार्य गरिनेछ । विज्ञहरूसँग छलफल गरी गुणस्तरीय लेखापरीक्षण प्रतिवेदन तयार पारिनेछ ।’’

प्रस्तावित महालेखापरीक्षक रायाले गुणस्तरीय लेखापरीक्षण प्रतिवेदन तयार पार्दा पनि विज्ञहरूसँग परामर्श लिएर अघि बढ्ने पनि बताउनुभयो ।