अमरराज नहर्की
तनहुँ, वैशाख ३ गते । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार गृह जिल्ला तनहुँ आउनुभएको छ । व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुरमा रहेको खड्गकालिका मन्दिरका र म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटनका लागि उहाँ गृह जिल्ला आउनुभएको हो ।
राष्ट्रपतिले बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवनको उद्घाटन गर्नुहुनेछ । सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले शासन गरेको तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्गकालिका मन्दिरको पुनर्निर्माण गरिएको र सो राष्ट्रपतिले उद्घाटन गर्नुहुने व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । पुरातत्व विभागको रु. ५० लाखको लागतमा मन्दिर पुनःनिर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
म्याग्दे गाउँपालिकाको वडा नम्बर ४ को नारिङ्गेमा ६ करोडको लागतमा भवन निर्माण गरिएको हो । एक रोपनी एक आना तीन पैसा तीन दाम निःशुल्क प्राप्त भएको र ८० रोपनी १४ आना तीन पैसा जमिन सार्वजनिक रहेको गाउँपालिकाले जनाएको छ । भाडाको घरमा बस्नुपर्दा साँघुरो र अप्ठ्यारो भएकोले नयाँ प्रशासकीय भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको राष्ट्रपतिले उद्घाटन गर्नुहुने म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।
राष्ट्रपति बनेपछि पौडेलको यो पाँचौं पटक गृह जिल्ला भ्रमणका लागि आउनु लाग्नुभएको छ । यसअघि चैत २३ भिमाद नगरपालिका–६ भिमाद बजारस्थित जनज्योति क्याम्पसको १६ औं वार्षिकोत्सव तथा क्याम्पसको प्रशासनिक तथा पुस्तकालय भवनको उद्घाटनका लागि पौडेल तनहुँ आउनुभएको थियो ।
यस्तै, चैत्र १८ गते तनहुँको देवघाट–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीको मोटरेबल पुल उद्घाटन, पुस २० गते भानु नगरपालिका–७ वसन्तपुरस्थित पुर्कोट शतवार्षिकी, असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ आउनुभएको थियो । राष्ट्रपति आउनुहुने भएपछि सुरक्षा व्यवस्था कडाइ गरिएको छ । राष्ट्रपतिको सुरक्षालाई चुस्त–दुरुस्त बनाउका लागि सुरक्षा निकायका सबै एकाइलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।