फडिन्द्र अधिकारी
लेखनाथ, चैत २९ गते। पोखराको फेवातालमा बिहीबार दिउँसो डुंगा पल्टिँदा तालका खसेका यात्रुको उद्धार गरिएको छ। दिउँसो अचानका आएको हावाहुरीका कारण डुंगा पल्टिदा तालमा खस्नुभएकी काठमाडौं महानगरपालिका वडा नम्बर १७, सामाखुसीकी अग्नि देवकोटालाई सकुशल उद्धार गरिएको हो।
२५ वर्षीया देवकोटालाई सशस्त्र प्रहरी बलको टोलीले तत्कालै उद्धार गरेको कास्कीका प्रहरी प्रवक्ता नायब प्रहरी उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो। फेवातालको बाराहीघाटमा सशस्त्र प्रहरीको रेस्क्यु वाच टावर छ।
टावरबाट खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले शर्माको उद्धार गरेको हो। अहिले उहाँको अवस्था सामान्य छ। पोखरामा चैत/वैशाख महिनामा दिउँसो २ बजेपछि हावाहुरी चल्ने गर्छ। प्रहरी प्रवक्ता शर्माले दिउँसो मौसम विचार गरेर डुंगा सयर गर्न र कुनै विपद आइपर्ने संकेत पाए सुरक्षा निकायलाई खबर गर्न आग्रह गर्नुभएको छ।
पोखराको फेवातालमा करिब आठ सय डुंगा छन्। ती डुंगा बाराही मन्दिर आवतजावत, फेवातालपारी आवतजावत र ताल सयरमा प्रयोग हुन्छन्।