• १९ वैशाख २०८१, बुधबार

एमाले नवलपुरको अध्यक्षमा जीवन श्रेष्ठ सर्वसम्मत

blog

नेकपा (एमाले) नवलपुर अध्यक्ष जीवन श्रेष्ठ ।

बोमलाल गिरी

नवलपुर, चैत २८ गते। नेकपा (एमाले) नवलपुरको नवौँ अधिवेशनले जीवन श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ।

निर्वाचन मण्डलका संयोजक, नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् जिल्ला इन्चार्ज मना केसी जिसीले अध्यक्ष जीवन श्रेष्ठसहित पदाधिकारीमा सर्वसम्मत भएको घोषणा गर्नु भएको हो।

जस अनुसार उपाध्यक्षमा यमुनाथ आचार्य, सचिवमा भीम कँडेल, उपसचिवमा षडानन्द लामिछाने र कल्पना देवकोटा सर्वसम्मत चयन हुनु भयो। १ सय ५ सदस्य नयाँ समिति चयनका लागि भएको नेकपा एमाले नवलपुरको नवौँ अधिवेशनले पदाधिकारी सर्वसम्मत घोषणा गरे पनि सदस्यहरू भने घोषणा गरेको छैन।

सदस्यमा सर्वसम्मत गर्नका लागि बिहीबारसम्मका लागि समयसीमा दिएकोले बुधबार सर्वसम्मत घोषणा नभएको एमाले निकट प्रेस चौतारी नवलपुरका अध्यक्ष सालिकराम कोइरालाले जानकारी दिनुभयो। 

एमाले स्रोतका अनुसार सदस्यको लागि भएको समूहगत छलफलबाट अधिकांश सदस्य पदमा पनि सहमति जुटेको केही क्लष्टरमा सहमति जुट्न बाँकी रहेकोले बिहीबारसम्मका लागि समयसीमा दिएको हो।