लेखनाथ समाचारदाता
लेखनाथ, चैत २८ गते । जैविक विविधतामा धनी र पृथक् भूगोल भएको पोखरामा मङ्गलबारबाट एग्रो बायोडाइभर्सिटीबारे अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । ३२ देशका दुई सयभन्दा बढी जैविक विविधता र कृषिसँग सम्बन्धित विज्ञ र सरोकारवाला सम्मेलनमा सहभागी छन् ।
सम्मेलन सुरुवात गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले जैविक विविधता र कृषिलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको खाना तथा कृषि सङ्गठनले विभिन्न सङ्घ, संस्थासँगको सहकार्यमा पोखरामा आयोजना गरेको सम्मेलन शुक्रबारसम्म चल्ने छ ।
वातावरण संरक्षण र जैविक विविधता संरक्षणमा किसानको विशेष भूमिका रहनेमा मन्त्री साहको जोड छ । मन्त्री शाहले भन्नुभयो, “परम्परागत बिउ संरक्षण, जैविक विविधता संरक्षण गर्दै कृषिमा आत्मनिर्भर हुन किसानको ठुलो भूमिका छ । हामी किसानलाई सम्मान हुने वातावरण बनाउँछौँ ।” पछिल्लो समय किसान हाइब्रिड बिउप्रति आकर्षित भएको जनाउँदै परम्परागत बिउ, बाली संरक्षण र आयआर्जनका कामलाई सँगसँगै लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले समतामूलक समाज निर्माण र दिगो भविष्यका लागि जैविक विविधता संरक्षण गर्नैपर्ने बताउनुभयो । सम्मेलनले परम्परागत ज्ञान, रैथाने बाली, बिउ संरक्षणका अनुभव साटासाट गरी संरक्षणको क्षेत्रमा नयाँ इँटा थप्ने उहाँको विश्वास छ । उहाँले भन्नुभयो, “किसान जैविक विविधताका संरक्षक हुन् । परिणाममुखी कामका लागि स्थानीय, किसान र सरोकारवालाबिच बलियो सहकार्य आवश्यक पर्छ ।” कार्यक्रममा खाद्य तथा कृषि सङ्गठनका प्रतिनिधि केन सिमिजु, एफएफएमका वन निर्देशक दुनकान म्याक्विइन, फेकोफोन अध्यक्ष ठाकुर भण्डारी, कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालगायतले बोल्नुभएको थियो ।
सम्मेलनमा एग्रो जैविक विविधताको अवस्था, चुनौती, सरोकारवालाको भूमिका, दृष्टिकोण र सरकारी नीतिबारे छलफल हुने छ । बुधबार सहभागीले जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिएका आर्वा गाउँ, भूमि पुज्ने तिखेढुङ्गा सामुदायिक वन, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, सुन्दरीडाँडा, रूपाताल, फुर्केटारी सामुदायिक वनलगायतका स्थल भ्रमण गर्ने छन् । पेरु, बोलिभिया, चीन, भारत, नेपाललगायतका देशमा भएका जैविक विविधता संरक्षण, आयआर्जन र प्रवर्धनका अनुभव साटासाट गर्दै सम्मेलन सकिने छ ।