मीना कँडेल
कावासोती, चैत २७ गते । कावासोती नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरेको छ । अनलाइन प्रणाली सुरु भएपछि अभिलेखीकरणमा सहजता, सेवा प्रवाहमा छरितो र प्रविधिमैत्री सेवा प्रवाह हुने, झुटा र किर्ते विवरण भरेर नागरिकता लिने कार्य रोकिने हुँदा यो सेवा प्रभावकारी हुने विश्वास लिइएको छ ।
आठ स्थानीय तह रहेको नवलपुर जिल्लाका चार पालिकाले नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरु गरेका छन् । जिल्लाको कावासोती नगरपालिका, देवचुली नगरपालिका, गैंडाकोट नगरपालिका र मध्यबिन्दु नगरपालिकाले केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सि सि आइ एम एस) को माध्यमबाट अनलाइन सिफारिस गरी सुरुवात गरेका हुन् ।
कावासोती नगरप्रमुख विष्णुप्रसाद भुसालले देशमा नै पहिलो पटक नवलपुरको गैँडाकोटबाट पहिलो पटक अनलाईन प्रणाली सुरु भएको बताउनुभयो । त्यसलगतै देवचुली, मध्यबिन्दु र कावासोती नगरपालिकामा अनलाइन प्रणाली सुरु भएको बताउनुभयो । मङ्गलबारबाट कावासोतीका १७ वटै वडामा एकैसाथ अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु भएको छ । वडा कार्यालयमा आवश्यक कागजपत्र लिएर गएपछि अनलाइनमार्फत सिफारिस हुनेछ ।
नगरप्रमुख भुसालले कावासोती–४ का सिमोन दर्लामी र धड्कन बिकको अनलाइन सिफारिस गरेर अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस कार्य सुरु गर्नुभएको हो । यस प्रणाली लागू भएपछि सेवाग्राहीले छिटोछरितो रुपमा नागरिकता प्राप्त गर्न सक्छन् भन्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । सबै वडा सचिव कर्मचारीलाई अनलाइन सिस्टममा विवरण अद्यावधिक गर्दा हुन सक्ने त्रुटिका बारेमा सावधानीपूर्वक काम गर्न नगरप्रमुख भुसालले आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले यो नयाँ प्रविधि भएकाले कुनै जटिलता देखापरेमा माथिल्लो निकायमा सुझाव राख्दै त्यसलाई परिस्कृत र परिमार्जित गर्ने अवसर समेत नवलपुरले प्राप्त गरेको बताउनुभयो । यस प्रणालीबाट नयाँ नागरिकतामात्रै सिफारिस गर्न सकिने उहाँले जानकारी दिनुभयो । अब बाँकी रहेका चार वटा गाउँपालिकामा समेत तालिम प्रदान गरि छिट्टै यो प्रणाली लागू गरिने उहाँले बताउनुभयो ।
यो प्रणाली लागु भएसँगै अब नयाँ नागरिकता प्राप्तिका लागि निवेदन दिने सेवाग्राहीले नागरिकता लिन आवश्यक पर्ने सिफारिसका पत्रहरु बोकेर जिल्ला, इलाका प्रशासनमा बुझाउनुपर्ने झञ्झट हट्नेछ । सफ्टवेयर प्रणालीमा प्रविष्ट भएका विवरणहरु गृह अन्तर्गत नागरिकता फाँट विभागमा रजिष्टेशन कोडका आधारमा सहजै नागरिकता पाउन सकिन्छ।