• २१ वैशाख २०८१, शुक्रबार

टर्कीले इजरायलमाथि व्यापार प्रतिबन्ध लगाउने

blog

इस्तानबुल, चैत २७ गते । गाजामा इजरायली युद्धको जवाफमा टर्कीले मङ्गलबारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजरायलमाथि व्यापार प्रतिबन्ध लगाउने व्यापार मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।

“इजरायलले तत्काल युद्धविराम घोषणा नगरेसम्म र गाजामा मानवीय सहायताको पर्याप्त तथा निर्बाध प्रवाहको अनुमति नदिएसम्म यो निर्णय कायम रहने छ”, मन्त्रालयले सामाजिक सञ्जालमा घोषणा गरेको छ । इजरायलले गाजालाई हवाई सहायता प्रदान गर्ने आफ्नो प्रयासलाई रोकेको एक दिनपछि टर्कीले नयाँ कदम चालेको हो ।

विदेशमन्त्री हकन फिदानले सोमबार इजरायलविरुद्ध प्रतिशोधको वाचा गर्दै प्रतिबन्धलाई ‘चरणबद्ध रूपमा’ र ‘बिना कुनै ढिलाइ’ लागू गरिने बताउनुभयो । टर्की गाजामा इजरायलको युद्धको सबैभन्दा कठोर आलोचकहरूमध्येको एक हाे । राष्ट्रपति रेसेप तैयम एर्दोगानले इजरायललाई ‘आतङ्कवादी राज्य’ को संज्ञा दिनुभएको छ । रासस/एएफपी