नवलपरासी समाचारदाता
कावासोती, चैत २७ गते । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकाका ५८ वर्षीय पञ्चराम विकलाई भुसको चुलो बनाउन भ्याइनभ्याइ छ । गाउँघरमा भुसको चुलोको माग बढेपछि ग्राहकको माग अनुसार भुसेचुलो बनाउन उहाँलाई भ्याइनभ्याइ भएको हो । ग्रामीण क्षेत्रमा भुसको मात्र प्रयोग गरेर घरेलु प्रविधि अपनाई बनाइएको चुलोको माग बढेको छ ।
माग बढेपछि दिनरात छोरासहित उहाँ भुसको चुलो बनाउन लागिपर्नुभएको छ । भुसबाट नै खाना पकाउन सकिने खालको भुसेचुलोको माग बढेको उहाँले बताउनुभयो । खेर गइरहेको कवाडी ड्रम, कर्कटपाता, टिन र छडको प्रयोग गरी चुलो निर्माण गरिँदै आइएको छ । १० जनाको परिवारलाई सहजै धान वा गहुँको भुस इन्धनका रूपमा प्रयोग गरी खाना पकाउने चुलो बनाइने पञ्चरामका छोरा अयोध्या विकले बताउनुभयो । दुई वर्षअगाडि ज्याला मजदुरी गर्दै आएको बताउँदै अयोध्याले भन्नुभयो, “भुसको चुलोको माग एक्कासि बढेपछि बाबुछोरा दुवै जनालाई चुलो बनाउन भ्याइनभ्याइ छ ।”
उहाँहरूले प्रतिचुलो आठ सयदेखि एक हजारसम्ममा बिक्री गर्दै आउनुभएको छ । एक महिनामा करिब दुई सयभन्दा बढी चुलो बिक्री हुने गरेको उहाँले बताउनुभयो । चुलोको अग्रिम भुक्तानी लिएर आकार बढाइ बनाएर दिने गरेको पञ्चरामले बताउनुभयो । पञ्चरामले चुलो बेचेर मासिक ५० हजार आम्दनी गर्ने गरेको सुनाउनुभयो । दैनिक १० देखि २५ वटाको अर्डर आउने गरेकाले आफैँ बनाउन नसकेर तीन जना कामदारसमेत राखेर काम गर्न सुरु गरेको विकले सुनाउनुभयो । चुलोमा भुस राखेपछि भुस आफैँ बिस्तारै चुलोको तल झर्ने गर्छ । आगो सल्काएपछि बल्न सुरु हुन्छ र केहीछिनमै खाना पाक्छ । आगो सल्काउन दाउरा पनि चाहिँदैन, कागजले आगो सल्कने गरेको उहाँले बताउनुभयो । दाउराको विकल्पमा गुइँठा बाल्दै आएका भित्री मधेशमा यसको माग बढेको स्थानीयवासीको भनाइ छ । दाउराको विकल्पमा यो राम्रो प्रविधि ल्याएको चौधरीले बताउनुभयो ।