• १९ वैशाख २०८१, बुधबार

गण्डकी प्रदेश सरकार सुरक्षित छ : नेता गुरुङ

blog

नेकपा (एमाले) का नेता पृथ्वीसुब्बा गुरुङ ।

बोमलाल गिरी

नवलपुर, चैत २६ गते । नेकपा (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकारको भविष्य सुरक्षित रहेको बताउनुभएको छ । 

आफूहरुको गठबन्धनमा ३१ सांसद रहेको भन्दै गुरुङले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउनुभयो । एमाले नवलपुको नवौं जिल्ला अधिवेशनको उद्घाटनपछि पत्रकारसँग कुरा गर्दै उपमहासचिव गुरुङले आफूहरुसँग ३० जना सांसद रहेको र विपक्षमा पनि ३० जना नै हुने भएकाले आफ्नो गठबन्धनमा रहेका सभामुखले निर्णायक भोट हाल्ने र मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने उहाँको तर्क छ । 

नेपाली कांग्रेस अदालत जाने भनेर कोशी प्रदेशको नजिर देखाउन खोजे पनि गण्डकी र कोशीको विषयमा धेरै भिन्नता रहेको उहाँले बताउनुभयो । ‘कोशीमा सभामुखको समेत हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई बुझाइएको थियो, गण्डकीले त्यसो गरेको छैन, उपमहासचिव गुरुङले भन्नुभयो, ‘मत बराबर भएमा सभामुखले निर्णायक भोट हाल्न पाउनुहुन्छ । त्यसोगर्दा हामी बहुमतमा हुन्छौं ।’

यसैबिच उपमहासचिव गुरुङले एमालेले २०८१ सालमा पार्टीभित्र शुद्धिकरण अभियान चलाउनु पर्ने बताउनु भएको छ । एमाले जिल्ला अधिवेशनको उद्घाटनसत्रमा बोल्दै गुरुङले शुद्धिकरण नगरी चुनावमा गए पार्टी पराजित हुने भन्दै शुद्धिकरणमा जोड दिनुभयो । पार्टीमा शुद्धिकरण अभियानपछि मात्र २०८४ को चुनावमा जानु पर्ने उहाँको भनाइ छ । 

शुद्ध आचरण भएको, नैतिकता र चरित्रवान भएका व्यक्तिलाई पार्टीमा भित्र्याउँदै पार्टीभित्रका नेता कार्यकर्तालाई पनि नैतिक र चरित्रवान बनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा एमाले सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण विष्टले देशभित्र र बाहिरबाट एमालेलाई कमजोर बनाउने षडयन्त्र भएको भन्दै गुट उपगुटमा विभाजित नभई एक ढिक्का भएर लाग्नु पर्ने बताउनुभयो । 

अन्तरविरोधले पार्टीलाई कमजोर भनाउने भन्दै उहाँले सहमतिका आधारमा नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्न आग्रह गर्नुभयो । सोमबारदेखि सुरु भएको एमालेको अधिवेशन जिल्ला नेतृत्व चयन गर्दै मंगलबार सकिने छ । एमाले जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष मुक्तिराम पाण्डे र नेता जीवन श्रेष्ठको नाम चर्चामा छ ।