फडिन्द्र अधिकारी
लेखनाथ, चैत २६ गते । मुस्ताङको कागबेनीमा श्राद्धका लागि आएका एक तीर्थालुको लेक लागेर सोमबार मृत्यु भएको छ । गुल्मीको मालिका गाउँपालिका–४ घिमिरेका ६८ वर्षीय कृष्णप्रसाद लम्सालको मृत्यु भएको हो ।
प्रदेश प्रहरी कार्यालय गण्डकीले कागबेनीधाममा पूजापाठ गर्ने क्रममा लेक लागेर बेहोस हुनुभएका लम्सालको जोमसोम अस्पतालमा निधन भएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका नायब प्रहरी उपरीक्षक भोजराज पाण्डेयले बिरामीलाई चेकजाँच गर्नेक्रममा बिहान पौने ९ बजे चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो ।
बिहान पूजापाठ गर्दैगर्दा लम्सालको अचानक श्वास प्रश्वासमा समस्या देखिएपछि बेहोस भई ढल्नुभएको थियो । लम्साललाई कागबेनी स्वाथ्यचौकी पुगाएकोमा त्यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल जोमसोम लगिएको थियो । मुस्ताङमा लेक लागेर चालु वर्षको नौ महिनामा ११ जनाको मृत्यु भइसकेको छ ।
मुस्ताङमा प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयले पर्यटक तथा तीर्थालुलाई मध्यनजर गरी आइतबारदेखि एक हप्ते हाइ अल्टिच्युड स्वास्थ्य शिविर चलाएको छ । कागबेनी समुद्री सतहदेखि दुई हजार आठसय मिटर उचाइमा पर्छ ।