• ७ कात्तिक २०८१, बुधबार

नेशनल मेडिकल कलेजको प्रयोगशालामा प्रहरीको छापा

blog

कन्हैयालाल केशरी
पर्सा, चैत २६ गते ।
 बीरगन्ज भेडियाहीस्थित नेशनल मेडिकल कलेजको प्रयोगशाला (ल्याब) मा बीरगन्ज महानगरपालिका औषधी ब्यवस्था बिभाग बीरगन्ज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले सोमबार छापामारी दुई चिकित्सकसहित ठुलो मात्रामा म्याद गुज्रिएको औषधी र केमिकल बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकृत केशर कुमार न्यौपाने नेशनल मेडिकल कलेजले म्याद गुज्रिएको केमिकल र औषधी प्रयोग गरी विभिन्न प्रकारको परीक्षण (ल्याब टेस्ट) गरिरहेको भन्ने सूचना आएपछि विभाग र प्रहरीको टोलीले छापा मारेको हो । सो क्रममा कलेजका प्रबन्ध निर्देशक डा. सहनवाज अन्सारी र प्रयोगशालाका प्रमुख डा.सञ्जय साहलाई पक्राउ गरिएको जानकारी सूचना अधिकारी न्यौपानेले दिनुभयो । 

सूचना अधिकृत न्यौपानेले प्रयोगशालामा प्रयोग हुने म्याद गुज्रिएको औषधी ठुलो परिमाणमा रहेकाले सङ्कलन गर्ने काम र मुचुल्का बनाउने काम भइरहेकाले थप विवरण आउन बाँकी रहेको बताउनुभयो ।

नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुद्धिन अन्सारीले म्याद गुज्रिएका औषधी र केमिकल फिर्ता गर्ने भन्दै ठाउँमा राखिएकोमा त्यसैलाई आधार बनाई छापा मारिएको जानकारी दिनुभयो ।