• १३ असोज २०८१, आइतबार

एमाले हुम्लाको दशौं जिल्ला अधिवेशन तयारी पूरा

blog

जिल्ला अधिवेशनका लागि हुम्ला आउनु भएका नेता बोगटी र शाही सिमकोट विमानस्थलमा । तस्बिर :राजन रावत

राजन रावत
हुम्ला, चैत २६ गते ।
नेकपा (एमाले)को दशौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । जिल्लाका सात वटा गाउँपालिका ४४ वडामध्य ४३ वटा वडा कमिटीबाट नेकपा (एमाले)ले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट कार्य सम्पन्न भएपछि अधिवेशनको तयारी पूरा भएको हो ।

वडा र गाउँपालिका कमिटीबाट एमाले जिल्ला अधिवेशनका लागि १७८ जना प्रतिनिधि छनोट भएका हुन् । एमाले हुम्लाका सचिव तीर्थराज बोहराले जिल्ला अधिवेशन प्रतिनिधि छनाट गर्ने कार्य पूरा भएको बताउनुभयो ।

उहाँका अनुसार वडा र गाउँपालिका कमिटीबाट आउन १७८ जना प्रतिनिधि र ९८ जनाको आयोजक कमिटी गरी २९८ जना प्रतिनिधिले दशौं जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्ने छन् । एमाले जनवर्गीय सङ्गठनबाट समेत अधिवेशन प्रतिनिधिको व्यवस्था गरेको छ ।

अधिवेशनका लागि ३३ प्रतिशत महिला र ४० वर्ष मुनीका १५ प्रतिशत प्रतिनिधि छनोट भएको एमाले हुम्लाले जनाएको छ । यसअघि नै दशौं जिल्ला अधिवेशनका लागि हुम्लाको वस्तुस्थिति झल्किने गरी लोगो सार्वजनिक गरिएको थियो । पार्टीको जिल्ला अधिवेशन यही चैत २८ र २९ गते सदरमुकाम सिमकोटमा हुँदै छ ।

अधिवेशनको उद्घाटनका लागि एमाले सचिव पृथ्वी सुब्बा गुरुङ हुम्ला आउने कार्यक्रम रहेको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली आउने जनाइएको भए पनि अन्तमा सचिव गुरुङ आउने तय भएको हो । अधिवेशनका लागि एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगी र हुम्ला जिल्ला इन्चार्ज  नागेन्द्र शाही सोमबार हुम्ला आइसक्नु भएको छ ।