राधाकृष्ण डुम्रे
वालिङ,चैत २६ गते । स्याङ्जाको गल्याङ्मा तेस्रो गल्याङ महोत्सव हुने भएको छ । जिल्लाको तेस्रो व्यापािरक केन्द्रको रुपमा रहेको गल्याङमा औद्योगिक व्यापार तथा कृषि महोत्सवको आयोजना गर्न लागिएको हो ।
‘गल्याङ महोत्सवको आधार कृषि, उद्योग, पर्यटन नै हाम्रो पूर्वाधार’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवले कृषि,पर्यटनको प्रवद्र्धनका साथै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने आयोजक गल्याङ उद्योग बाणिज्य संघका अध्यक्ष डोलप्रसाद श्रेष्ठ (ध्रुव) ले जानकारी दिनुभयो । महोत्सवले स्थानीय संस्कृतिको जगेर्ना तथा खेलकुद क्षेत्रको संरक्षणमा सहयोगी हुने अध्यक्ष श्रेष्ठको दावी छ ।
आयोजकले सेतीवेणी शिला, ताम्केकोट, जगत्रदेवी मन्दिर, कालीगण्डकी जलविद्युत परियोजना, आँधीखोला जलविद्युत परियोजना(वि.पि.सी.), आक्वा, उत्तरवाहिनी, रामनदीधाम, सिद्धगुफा, आलमदेवी मन्दिर, गहौंकालिका मन्दिर, अकलादेवी जस्ता धार्मिक क्षेत्रलाई प्रचारप्रसार गर्ने लक्ष्य लिएको जनाएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन गर्न आउने आन्तरिक तथा बाह्रय पर्यटकका लागि महोत्सवका अवसरमा घुम्ने व्यवस्था मिलाईएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
महोत्सवले झण्डै डेढ करोडको कारोवार गर्ने लक्ष्य आयोजकले लिएका छन् । संघको आफ्नो कुनै जग्गा तथा भवन नभएकोले महोत्सवबाट आम्दानी भएको केही रकमबाट उचित स्थानमा जग्गा खरिद गरिने आयोजकको भनाइ छ ।
संघका संस्थापक अध्यक्ष लेखनाथ भट्टराईले महोत्सवले बजारमा चहलपहलसँगै आर्थिक कारोबार पनि बढ्ने दावी गर्नुभयो । महोत्सव आगामी चैत ३० गतेदेखि बैशाख ९ गतेसम्म सञ्चालन हुने संघ अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।