• १४ मंसिर २०८१, शुक्रबार

सङ्कटमा पन्चैबाजा

blog

नवलपरासी समाचारदाता

कावासोती, चैत २६ गते । विवाह तथा व्रतबन्धमा प्रयोग हुँदै आएको पन्चैबाजा जोगाउन समस्या भएको छ । परम्पराकालदेखि दमाईं जातिले बजाउँदै आएको सो पेसा सङ्कटमा परेको हो । 

दमाईं जातिको एकाधिकारका रूपमा रहेको पन्चैबाजा अहिले भने मगर, गुरुङलगायत विभिन्न जातजातिले समेत बजाउन थालेका छन् । दमाईंहरू यो पेसाबाट टाढिँदै गएपछि सङ्कटमा पर्न थालेको हो । 

बुलिङटारका पदमबहादुर परियारले परम्परागत रूपमा पन्चैबाजा बजाउनेहरू वैदेशिक रोजगारीतर्फ बढी आकर्षित हुन थालेपछि यो पेसा थप सङ्कटमा पर्दै गएको बताउनुहुन्छ । 

गैँडाकोट, बुलिङटार, मिथुकरम, डेढगाउँमा दशकौँदेखि पन्चैबाजालाई व्यावसायिक रूपमा अगाडि बढाइरहेका छन् । युवा जीविकोपार्जनका लागि यो पेसा छाडेर वैदेशिक रोजगारीमा जान थालेको बुलिङटारका भविलाल परियारले बताउनुभयो । 

पन्चैबाजा उत्कृष्ट हुने भएकाले जति महँगो भए पनि दमाईंको बाजा प्रचलनमा आएको गैँडाकोटका रामबहादुर परियारले बताउनुभयो । उहाँका अनुसार अहिले मुस्किलले यो बाजा पाइने गरेको छ । 

पन्चैबाजा नेपालीको संस्कृति बचाउने ऐतिहासिक बाजाका रूपमा लिइने गरेको छ । यसको संरक्षणमा सबैको चासो हुनुपर्ने सरोकारवालाहरू बताउँछन् । 

मगर र गुरुङ जातिहरू अहिले पुरुष महिला दुवै यो पन्चैबाजातर्फ आकर्षित हुँदै गएका छन् । यो बाजामा एकाधिकार जमाउँदै आएका दमाईंको पेसा भने सङ्कटमा पर्दै गएको बुलिङटारका प्रेमबहादुर थापा बताउनुहुन्छ ।