• १३ मंसिर २०८१, बिहिबार

एमाले स्याङ्जा अध्यक्षमा गैरे निर्विरोध

blog

अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएका पारस गैरे ।

अर्जुन काफ्ले

स्याङ्जा, चैत २५ गते । नेकपा (एमाले) स्याङ्जाको नवौँ जिल्ला अधिवेशनमा पारस गैरे निर्विरोध अध्यक्ष निर्वाचित हुनु भएको छ । चैत २३ गते भएको निर्वाचनमा गैरेको मात्र एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो ।  

माओवादी केन्द्रका नेता रामबहादुर थापासँगै एमालेमा प्रवेश गर्नुभएका गैरे यस पटक अध्यक्ष बन्नुभयो । केन्द्रीय उपमहासचिव पृथ्बीसुब्बा गुरुङको साथ पाएपछि उहाँ निर्विरोध बन्नु भएको बताइएको छ । 

निर्वाचनबाट उपाध्यक्ष महेश पुरी, सचिवमा रामचन्द्र (आरसी) भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चिनमायाँ गुरुङ निर्विरोध हुनुभयो । पदाधिकारीमा निर्विरोध भए पनि सदस्यमा भने निर्वाचन हुने भएको छ । 

निर्वाचनमा पालिकास्तरमा केही सदस्य निर्विरोध हुनुभएको छ । १८ खुल्ला सदस्यका लागि ४९ जनाको उम्मेदवारी परेको छ । ६ जना महिला खुल्ला सदस्यको लागि १० जनाको उम्मेदवारी परेको छ । 

दुई युवा सदस्यका लागि नौ जनाको उम्मेदवारी परेको छ । सदस्यमा आवश्यकभन्दा धेरै उम्मेदवारी परेपछि समय थप गरी मिलाउने प्रयास भइरहेको छ । अधिवेशनबाट १०५ सदस्य निर्वाचित हुने छन् । 

नौ हजार ५४३ जना पार्टी सदस्य रहेको स्याङ्जा अधिवेशनमा ११ पालिकाकाका ६०९ जना प्रतिनिधि सहभागी छन् ।