• ४ असार २०८१, मङ्गलबार

अत्याधुनिक बाल मन्दिर निर्माण हुँदै

blog

नेपालगञ्जस्थित बाल मन्दिर निर्माणका लागि तयारी हुँदै । तस्बिरः गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, चैत २५ गते । नेपालगञ्जको रामलीला मैदाननजिक रहेको बाल मन्दिरको अत्याधुनिक भवन निर्माण सुरु भएको छ । नेपाल बाल सङ्गठन बाँकेका सभापति दत्तप्रसाद आचार्यका अनुसार ६ करोडको लागतमा तयार हुनेगरी छात्रावाससहितको विद्यालय निर्माण कार्य सुरु भएको हो । 

६ करोड रुपियाँमा तीन तल्ले अत्याधुनिक भवन निर्माण गरिने भए पनि पहिलो चरणमा एक करोड ४५ लाख रुपियाँको लागतमा पहिलो तल्ला भवन निर्माण कार्य अघि बढेको हो । पहिलो तलाको निर्माण कार्य असारभित्र सम्पन्न गर्नेगरी हाल निर्माण कार्य भइरहेको छ । 

हाल बाल मन्दिरको भवन जीर्ण तथा साँघुरो रहेका कारण अध्ययन अध्यापनमा असहज भएपछि नयाँ भवन निर्माण थालिएको छ । नेपाल बाल सङ्गठन बाँकेका सभापति आचार्यले भन्नुभयो, ‘डीपिआरअनुसार तीन तल्ले भवन निर्माण गरिनेछ, पहिलो तलामा विद्यालय, दोस्रोमा छात्रावास र तेस्रो तलामा विद्यालयको पठन पाठन हुने बताइएको छ । 

बाल मन्दिरमा हाल दुई सय जना विद्यार्थी अध्ययनरत छन् । आचार्यले दुई वर्ष अघिसम्म ४० जना विद्यार्थी रहेकोमा अहिले विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । भौतिक निर्माणसहित शैक्षिक गुणस्तर सुधारका लागि समेत पहल थालिएको उहाँले बताउनुभयो । 

बाल मन्दिरमा रहेको सभा हल जीर्ण रहेको छ । कोभिड सङ्क्रमणको समयमा सामान्य मर्मतसम्भार गरी आइसोलेसन केन्द्र सञ्चालन गरिएको छ ।