सिराज खान
नेपालगन्ज, चैत २५ गते । नेपालगन्जका स्थानीयहरु पछिल्लो समय आफ्नो स्वास्थ्यप्रति सजग र सचेत हुँदै स्वास्थ्यका लागि हाँसो कार्यक्रम सुरु गरेका छन् ।
स्वास्थ्य सुरक्षाका लागि नेपालगन्जमा एकपछि अर्को विभिन्न प्रकारका गतिविधि र अभियान निरन्तर चलिरहेका छन् । विशेषगरी वृद्धहरुको स्वास्थ्यलाई ध्यानमा राखेर नेपालगन्जमा ‘स्वास्थ्यका लागि हाँसो शृङ्खला’ सञ्चालन गरिएको छ । हास्य क्लब नेपालगन्जले हप्ताको प्रत्येक बुधबार विहान ७ बजेदेखि ८ बजेसम्म एक घन्टा स्वास्थ्यका लागि हाँसो शृङ्खलाको सुरुवात गरेको हाँसो क्लबका अध्यक्ष डा. छत्रपाल अग्रवालले बताउनुभयो ।
क्लबले विभिन्न अग्रजको पहलमा नेपालगन्जको महेन्द्र पुस्तकालयमा हप्ताको एक दिन एक घण्टा मात्र हाँसेर बिताउन हाँसो कार्यक्रम सुरु गरेको बताउनुभयो । हाँसो कार्यक्रममा नेपालगन्जमा समाजसेवाको क्षेत्रमा अनुभव प्राप्त स्थानीय वृद्ध तथा प्रतिष्ठित व्यक्तिहरुले हँसाउने र हाँस्ने गर्नुभएको छ ।
कार्यक्रममा सहभागीहरुले हाँसो लाग्ने विभिन्न चुटकिला, कथा, घटना, टुक्का, उखान सुनाएर आफूलगायत सबैलाई हँसाउने गरिएको हाँसो क्लबका सदस्य अग्रज व्यापारी कन्हैयालाल टण्डनले बताउनुभयो ।
उहाँले हाँसो स्वास्थ्यका लागि निकै लाभदायक भएकाले स्वस्थ रहन हाँसो अति आवश्यक भएको सन्देश प्रवाह गर्न सचेतना समेत प्रवाह गरिएको बताउनुभयो । हाँसो क्लबका अध्यक्ष डा. अग्रवाल, सदस्यहरु कृष्णमुरारीप्रसाद भट्ट, कन्हैयालाल टण्डन, अधिबक्ता विश्वजित तिवारी, अधिवक्ता मोहम्मद अयुव सिद्धिकी, नन्दलाल बैश्य, हरिराम तिवारी, रामचन्द्र श्रेष्ठ, आयोध्या पासी, हरजितसिंह सरदार, धु्रब बैश्य, रामप्रसाद आचार्य, राकेशकुमार मिश्रलगायतले हँसाउने गर्नुभएको छ । हरेक बुधबार बिहान हुने हाँसो शृङ्खलामा स्वःस्फूर्त सहभागिताका लागि क्लबले आग्रह गरेको छ ।