अमृतप्रसाद पौडेल
म्याग्दी, चैत २५ गते । हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शनका लागि आउनेहरुमा दक्षिण भारतीय पर्यटकको सङ्ख्या उच्च छ ।
मुक्तिनाथ विकास समितिका कर्मचारी रबिन सुवेदीका अनुसार पछिल्लो समय ७० प्रतिशत हारहारीमा पर्यटकहरु आउने गरेकोमा अधिकांश दक्षिण भारतका छन् ।
भारतको तमिलनाडु लगायतका क्षेत्रका पर्यटकहरुको सङ्ख्या अलिक बढी हुने गरेको उहाँको भनाइ छ । मुक्तिनाथ दर्शनका लागि आउने नेपालीको सङ्ख्या पनि उल्लेख्य हो तर नेपालीभन्दा कैयौं गुणा धेरै भारतीयहरु आउने गर्दछन् । सरदर हेर्दा करिब ७० प्रतिशत नै भारतीयहरु दर्शनका लागि आउने गरेका छन् ।
भारतको हैदरावाददेखि मुक्तिनाथ दर्शनका लागि आउनुभएका राजेन्द्र कुमारले भारतको बद्री नाथ तथा केदारनाथ भ्रमणपछि नेपालको पशुपति हुँदै मुक्तिनाथ आउँदा निकै राम्रो लागेको बताउनुभयो । नेपालको वातावरण अनि नेपालीहरु निकै सहयोगी रहेको बताउँदै बेनी–जोमसोम–मुक्तिनाथ सडक राम्रो भएको खण्डमा अझै धेरै पर्यटक आउने धारणा राख्नुभयो ।
हैदरावादकै अशोक कुमारले मुक्तिनाथ आउने आफ्नो इच्छा पूरा भएको र यहाँको भ्रमणका साथै पूजा अर्चनापछि आफ्नो मन खुशी भएको बताउनुभयो । हैदरावाददेखि ३४ जनाको समूहमा आफूहरु आएको र पशुपतिनाथ दर्शनपछि मुक्तिनाथ आउँदा उत्साहित भएको बताउनुभयो । निकै पहिलेदेखि मुक्तिनाथ दर्शनका लागि आउने भाकल गरेको थिएँ यस पटक त्यो भाकल पूरा भएको र मनोकांक्षा पूरा हुने अपेक्षा गरेको अशोकको भनाइ छ ।
मुक्तिनाथ मन्दिरका मूल पुजारी कृष्णप्रसाद सुवेदीले पछिल्लो समय मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य रुपमा वृद्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, "शनिबार
दुई हजारभन्दा बढी भक्तजनले दर्शन तथा पूजा अर्चना गरेको र आइतबार तीन हजारभन्दा धेरै भक्तजन आइपुग्नुभएको छ ।" चिसो समयमा कम भएको भक्तजनहरुको भीड अहिले फागुनपछि दिनानुदिन बढ्दै गएको उहाँको भनाइ छ ।