रमेश विश्वकर्मा
गुल्मी, चैत २५ गते । गुल्मीको धुर्कोट गाउँपालिकामा सञ्चालन भएको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा छ सयभन्दा बढीले सेवा लिएका छन् । धुर्कोट गाउँपालिकाको आयोजना एवम् चिकित्सा परिवारको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ६६० जनाले सेवा लिएका हुन् ।
धुर्कोट आधारभूत अस्पतालमा एक दिन [शनिवार] मात्र सञ्चालन भएको शिविरमा ४५८ जना महिला र २०२ जना पुरुषले सेवा लिनुभएको स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले जानकारी दिनुभयो । उहाँका अनुसार जनरल मेडिसिनतर्फ १८९ जना, हाडजोर्नी तथा नसारोगतर्फ १८० जना, स्त्रीरोगतर्फ ९२ जना, बाल रोगतर्फ ७३ जनाले सेवा लिनुभएको छ । त्यस्तै, दाँततर्फ ४७ जना र मनोरोगतर्फ ७९ जनाले सेवा लिनुभएको उहाँले बताउनुभयो ।
यस शिविरमा धुर्कोट गाउँपालिकाका विभिन्न वडाका साथै इस्मा र मदाने गाउँपालिकाका नागरिकले समेत सेवा लिएका छन् । पाल्पा र बुटवलबाट लिने सेवा गाउँमै लिन पाउँदा नागरिक खुसी देखिएका छन् । धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले गाउँपालिकाले नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै शिविरको आयोजना गरेको बताउनुभयो ।
शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कन्सलटेन्ट फिजिसियन डाक्टर शम्भु खनाल, वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विपिन खनाल, टाउको, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मी, हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर रमेश अर्याल, भीम अस्पताल भैरहवामा कार्यरत डाक्टर सुदीप भण्डारी, डेन्टल सर्जन डाक्टर सुशील पोखरेल, मेडिकल अफिसर डाक्टर श्रीराम पन्थीले निःशुल्क विशेषज्ञ सेवा प्रदान गर्नुभयो ।