गजेन्द्र गुरुङ
खजुरा, चैत २५ गते । नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयले आफ्नो मातहतमा रहेका छ जिल्लाका १० वितरण केन्द्रमार्फत लाइन वितरण गरिएका स्थानीय तह अन्तर्गतका महसुल तिर्न बाँकी सडकबत्तीको लाइन काट्न सुरु गरेको छ ।
लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख ई. राजीव सिंहले स्थानीय तह अन्तर्गतका विद्युत् महसुल बुझाउन बाँकी रहेका सडकबत्तीको लाइन धमाधम काट्न सुरु गरिएको बताउनुभयो । उहाँका अनुसार छ जिल्लाका स्थानीय तहबाट सडकबत्ती बालेबापतको २६ करोड ९९ लाख २८ हजार ८९० रुपियाँ बक्यौता रकम उठ्न बाँकी छ ।
“स्थानीय तह अन्तर्गतका सडकबत्तीबाट विद्युत् उपभोग गरेबापतको महसुल रकम नबुझाइएका सडकबत्तीको लाइन धमाधम काटिरहेका छौँ,” उहाँले भन्नुभयो, “सडकबत्तीको महसुल रकम बुझाउन बाँकी रहेका स्थानीय तहहरूलाई सार्वजनिक सूचनामार्फत महसुल बुझाउन जानकारी गराएका थियौँ, जानकारी पाएर पनि महसुल नबुझाउने स्थानीय तहहरूको सडकबत्तीको लाइन काटिरहेका छौँ ।”
सडकबत्तीको व्यवस्थित उपयोग गर्ने र सोको महसुल भुक्तानी गर्ने सम्बन्धमा सार्वजनिक सूचना जारी गरी सबै स्थानीय तहलाई अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । केही स्थानीय तहबाट सडकबत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानी गर्ने प्रतिबद्धता प्राप्त भएको र केहीबाट भुक्तानीसमेत प्राप्त भएको उहाँले बताउनुभयो । कतिपय स्थानीय तहबाट सो अनुरूप कार्य नभएको हुँदा त्यस्ता स्थानीय तहमा रहेका सडकबत्तीको विद्युत् लाइन काट्ने क्रम जारी छ ।
सबै स्थानीय तहमा समर्थन गर्नुपर्ने रकमसहित पत्राचारसमेत गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार समर्थन नगर्ने वा गरे पनि किस्तामा रकम नतिर्ने पालिकामा जडान भएका सडकबत्तीको लाइन काट्ने क्रम जारी रहेको छ । बर्दियाको गुलरिया वितरण केन्द्रमार्फत बारबर्दिया तथा बाँसगढी नगरपालिकाभित्र रहेका सडकबत्ती साङ्केतिक रूपमा काट्न सुरु गरिएको उहाँले बताउनुभयो । राजापुर वितरण केन्द्रमार्फत गेरुवा गाउँपालिका–३ को १ नम्बर हाइमास्टको लाइन काटिएको छ ।
दाङको तुलसीपुर वितरण केन्द्र अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाको सडकबत्तीको बाँकी बक्यौता सबै समर्थन भएको छ । सो पालिकाले किस्ताबन्दीमा रकम बुझाउने सहमति अनुसार केही रकम मात्र बुझाएको र सबै रकम भुक्तानी नगरेकाले आंशिक रूपमा वडा नं. ६ मा रहेका दुई वटा सडकबत्तीको मिटरको लाइन काटिएको प्रमुख सिंहले जानकारी दिनुभयो । घोराही वितरण केन्द्रमार्फत छ वटा सडकबत्तीको लाइन काटिएको उहाँले बताउनुभयो ।
त्यसै गरी नेपालगन्ज वितरण केन्द्रमार्फत बाँकेको खजुरा गाउँपालिका अन्तर्गत रहेका सबै सडकबत्तीको लाइन काटिएको छ । कोहलपुर वितरण केन्द्रमार्फतको कोहलपुर नगरपालिकाले भने सडकबत्तीको अग्रिम भुक्तानी गरेको डिभिजन प्रमुख सिंहले बताउनुभयो । प्युठान वितरण केन्द्रको प्युठान नगरपालिका र दाङको लमही वितरण केन्द्रको लमही नगरपालिकाले पनि अग्रिम भुक्तानी गरेका छन् । रुकुमपूर्व र रोल्पामा भने सडकबत्ती नभएको उहाँले बताउनुभयो ।
हालसम्म बाँकी बक्यौता रकम नबुझाउने विभिन्न चार वटा वितरण केन्द्रमार्फत ५१ वटा सडकबत्तीको लाइन काटिएको छ । डिभिजन प्रमुख सिंहका अनुसार नेपालगन्ज वितरण केन्द्रमाफर्त खजुरामा आठ वटा, कोहलपुर वितरण केन्द्रमार्फत १८ वटा, घोराही वितरण केन्द्रमार्फत छ वटा र लमही वितरण केन्द्रमार्फत १९ गरी जम्मा ५१ वटा सडकबत्तीको लाइन काटिएको हो ।
लुम्बिनी प्रदेश डिभिजन कार्यालय अन्तर्गत स्थानीय तहले फागुन मसान्तसम्मको बुझाउनुपर्ने कुल बक्यौता रकम २६ करोड ९९ लाख २८ हजार ८९० रुपियाँ रहेको छ । जसमध्ये सबैभन्दा धेरै नेपालगन्ज वितरण केन्द्रमार्फत २० करोड ८४ लाख २६ हजार १३७ रुपियाँ बाँकी बक्यौता रकम रहेको छ ।
त्यसै गरी गुलरिया वितरण केन्द्रमार्फत चार करोड ६५ लाख नौ हजार ९४६ रुपियाँ, तुलसीपुर वितरण केन्द्रमार्फत एक करोड छ लाख ९० हजार ८८४ रुपियाँ, राजापुर वितरण केन्द्रमार्फत ३३ लाख ९७ हजार ७२० रुपियाँ, घोराही वितरण केन्द्रमार्फत चार लाख २१ हजार रुपियाँ, कोहलपुर वितरण केन्द्रमार्फत तीन लाख ९१ हजार ७९९ रुपियाँ, प्युठान वितरण केन्द्रमार्फत ७१ हजार ७७१ रुपियाँ र सबैभन्दा कम लमही वितरण केन्द्रमार्फत १८ हजार ७७२ रुपियाँ बक्यौता रकम उठ्न बाँकी रहेको डिभिजन कार्यालयले जनाएको छ ।