• १४ मंसिर २०८१, शुक्रबार

वैदेशिक रोजगारीमा जाने ठगिने क्रम बढ्दो

blog

जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा उजुरी दिन आएकाहरू ।

अमरराज नहर्की 

तनहुँ, चैत २५ गते । पछिल्लो समय तनहुँमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ । दलालको भरपर्दा ठगिने क्रम बढेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्र तनहुँले जनाएको छ । 

केन्द्रकी जिल्ला संयोजक लुना रानामगरले म्यानपावर कम्पनीको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा ठगिने क्रम बढेको बताउनुभयो । रानाले भन्नुभयो, “सरकारले मान्यता नदिएका म्यानपावर तथा बिचौलियाको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा ठगिने क्रम बढ्दै गएको छ ।” एक जनाले धेरै जनालाई ठग्ने गरेको र एकै व्यक्तिबाट २५ लाख रुपियाँसम्म ठगेको पाइएको रानाले जानकारी दिनुभयो । ठगिएको भन्दै दिनहुँ जसो उजुरी दिन पीडित आउने गरेको केन्द्रले जनाएको छ । केन्द्रका परामर्शदाता गोमा तिवारीका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को चैत २३ गतेसम्ममा  जिल्लामा वैदेशिक रोजगारीमा ११८ जना ठगिएका छन् । ठगिएकाले आप्रवासी स्रोत केन्द्रमा उजुरी दिएका छन् । सबैभन्दा बढी व्यास नगरपालिकामा ३२ जना ठगिएका छन् । भानु नगरपालिकामा पाँच, शुक्लागण्डकी नगरपालिकामा चार, म्याग्दे गाउँपालिकामा १६, भिमाद नगरपालिकामा पाँच, बन्दीपुर गाउँपालिकामा चार जनाले ठगिएको उजुरी दिएका छन् । देवघाट गाउँपालिकामा तीन, घिरिङ गाउँपालिकामा एक, ऋषिङ गाउँपालिकामा छ र आँबुखैरेनी गाउँपालिकामा छ जना ठगिएका छन् । जसमा हालसम्म मात्र १२ जनाले न्याय पाउँदा १६ लाख २५ हजार रकम फिर्ता पाएका छन् । प्रमाणको अभावमा धेरै पीडितले न्याय पाउन सकेका छैनन् । 

आर्थिक वर्ष २०७९/८० मा ७२ जनाले ठगिएको भन्दै उजुरी दिएका छन् । उजुरी दिएकामध्ये ४३ जनाले न्याय पाएका छन् । ४३ जनाले ९८ लाख ६५ हजार रुपियाँ फिर्ता पाएका छन् । यसै गरी आर्थिक वर्ष २०७८र७९ मा ३९ जना ठगिएका छन् । ठगिएकामध्ये प्रमाण पुगेका ३२ जनाले रकम फिर्ता पाउन सफल भएका छन् । ठग्ने एजेन्टबाट ८६ लाख १४ हजार असुल भएको छ । 

एजेन्टले ठग्नका लागि नयाँ नयाँ तरिका अपनाउँदै आएका छन् । नागरिकता नम्बर र फोटो अर्कैको राखेको नागरिकताको फोटोकपी पठाएर पैसा पठाउन लगाउने, ई सेवाबाट पैसा पठाउन लगाउने जस्ता तरीका अपनाउने गरेको पाइएको तिवारीले बताउनुभयो । सिधै नेपाल सरकारबाट सूचीकृत म्यानपावर कम्पनीमा सम्पर्क गर्ने र बैङ्कमार्फत उद्देश्य खुलाएर रकम जम्मा गर्ने हो भने ठगीबाट जोगिन सकिने तिवारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीको प्रयोजन खुलाएर रकम दिएका कागज भए रकम असुलउपर गर्न सजिलो हुन्छ नत्र कठिन हुन्छ ।” वैदेशिक रोजगारीमा जानेलाई उचित परामर्शका लागि नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आप्रवासी स्रोत केन्द्र स्थापना गरेको छ । प्रत्येक जिल्ला प्रशासन कार्यालयमा केन्द्रको सहायता कक्ष राखिएको छ । सहायता कक्षबाट वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क परामर्श, आवश्यक कानुनी सहायता र सिपमूलक तालिमसमेत उपलब्ध गराउने गरिएको छ । 

आफन्त तथा बिचौलियाको लहलहैमा लाग्दा ठगिने क्रम बढेको परामर्शदाता हर्षित गुरुङ बताउनुहुन्छ । मलेसिया, साउदी, दुबई, माल्ट्रा र रोमानियाका साथै पछिल्लो समय अमेरिका, क्यानडा, अस्ट्रेलिया, पोल्यान्ड, कोरिया र जापान पठाउने भनेर रकम मागेर पनि ठगी गर्ने गरेको पाइएको गुरुङले जानकारी दिनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने विदेश जान पाए हुन्थ्यो भनेर हतारिएर रकम दिने गरेकाले ठगिने गरेको पाइएको बताउनुभयो । राम्रोसँग बुझेर मात्रै विदेश जानुपर्ने र स्थानीय सरकार तथा जिल्लाा प्रशासन कार्यालयमा रहेको परामर्श केन्द्रमा पुगी राम्रोसँग बुझेर मात्रै विदेश जानुपर्ने उहाँको सुझाव छ ।