तनहुँ समाचारदाता
तनहुँ, चैत २५ गते । ट्र्याक खोलेको तीन दशकपछि तनहुँको एक कृषि सडक कालोपत्रे भएको छ । म्याग्दे गाउँपालिका–२ स्थित पिपलडी कृषि मोटरमार्ग कालोपत्रे भएको हो ।
म्याग्दे गाउँपालिका–२ का वडा सदस्य रमेश क्षेत्रीले ट्र्याक खुलेको ३० वर्षपछि कालोपत्रे भएको बताउनुभयो । गण्डकी प्रदेश सरकारको ३० लाख बजेटमा ४२० मिटर बाटो कालोपत्रे गरिएको अधिकारीले जानकारी दिनुभयो । क्षेत्रीले भन्नुभयो, “कालोपत्रे गरिएपछि यहाँ आवागमन सहज हुनुका साथै यस क्षेत्रमा उत्पादन भएका कृषि सामग्री बजारसम्म पु¥याउन सहज भएको छ ।” एन्जल कन्स्ट्रक्सनले सडक कालोपत्रे गरेको हो । पृथ्वी राजमार्गमा जोडिएको उक्त सडकमा गाउँपालिकाको ६० प्रतिशत लागत सहभागिता र स्थानीय बासिन्दासँग ४० प्रतिशत रकम सङ्कलन गरेर नौ सय मिटर पक्की नालासमेत निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । नाला निर्माणका लागि स्थानीय बासिन्दाबाट रकम सङ्कलन गरिएको क्षेत्रीले बताउनुभयो । सडक कालोपत्रे भएपछि त्यस क्षेत्रका एक सयभन्दा बढी घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।
लामो समयदेखिको बाटो कालोपत्रेको सपना पूरा भएको भन्दै स्थानीय खुसी भएका छन् । यस सडकले म्याग्दे गाउँपालिकाको वडा नम्बर ३ लाई जोडेको छ । कृषि मार्ग पूरै कालोपत्रे गर्नका लागि प्रदेश सरकारसँग थप बजेट माग गरिएको क्षेत्रीले जानकारी दिनुभयो । सडक कालोपत्रेका लागि कतै सुनवाइ नहुँदा लामो समयसम्म पिच हुन सकेको थिएन ।