बेनी समाचारदाता
म्याग्दी (बेनी), चैत २५ गते । थप बजेट प्राप्त नहुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित प्रभा माध्यमिक विद्यालयको निर्माणाधीन विद्यालय भवन प्रभावित बनेको छ । सङ्घीय सरकारको विशेष अनुदानबाट गाउँपालिकाले एक वर्षअघि १८ कोठा भएको विद्यालय भवन निर्माण थालेको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने बाँकी करिब एक करोड ८४ लाख रुपियाँ सङ्घीय सरकारबाट गाउँपालिकालाई प्राप्त नहुँदा भवन निर्माण प्रभावित बनेको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय योजना आयोगबाट स्वीकृत बजेटबाट पालिकाले विद्यालय भवन बनाउन सुरु गरेको थियो । उहाँले भन्नुभयो, “भवन निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने बाँकी रकम माथिबाट आएको छैन । बजेट माग गर्न जनप्रतिनिधिसहित राष्ट्रिय योजना आयोगमा चार पटकसम्म पुग्यौँ तर सुनुवाइ भएन । बजेट आए यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न हुने थियो ।”
चालु आवमा बजेट प्राप्त नहुने भएपछि योजनाको म्याद थपेर अर्को आवमा भवन निर्माण सम्पन्न गर्ने सोच गाउँपालिकाले बनाएको सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो आवमा रकम नआउने नै भयो, योजनाको म्याद थपेर अर्को आवमा भवन निर्माण सम्पन्न गर्दछौँ ।” निर्माण व्यवसायीले सरासर काम गरेकाले म्याद थपका लागि पनि समस्या भएको उहाँको भनाइ छ । म्याद थपका लागि निर्माण व्यवसायीले नै निवेदन दिनु पर्दछ तर व्यवसायी निवेदन दिने पक्षमा नभएको उहाँको भनाइ छ । रकम अभावमा भवन निर्माण समयमै नहुँदा विद्यार्थीलाई पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ ।
तीन करोड ८४ लाख १८ हजार ९०७ रुपियाँ कुल लागतमा उक्त भवन निर्माण गर्न २०८० वैशाख २४ गते जयलक्ष्मी÷अभिनव जेभी बागलुङसँग २०८१ साल जेठ ३० भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । भवनको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी भएको गाउँपालिकाका सबइन्जिनियर बालकृष्ण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले भवनका लागि आवश्यक पर्ने झ्यालढोका र स्टिल फर्निचरलगायतका सामग्री तयारी अवस्थामा राखेका छन् तर निर्माण व्यवसायीलाई भुक्तानी गर्ने रकम नहुँदा बाँकी काम अगाडि बढाउन समस्या भएको छ ।” चालु आवभित्रै भुक्तानी पाउने सुनिश्चित भए एक महिनाभित्रमा भवन निर्माण योजना सम्पन्न गरिदिने निर्माण व्यवसायीका प्रतिनिधि जयन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।