सिराज खान
नेपालगन्ज, चैत २४ गते । नेपालगन्जका एकसय ३० जना मुस्लिम समुदायका अनाथ बालबालिकालाई ईद पर्वका लागि कतार च्यारिटिले कपडा, जुत्ता लगायतका उपहार सामग्री प्रदान गरेको छ ।
अनाथ बालबालिकाले पनि अन्य बालबालिकाजस्तै ईद पर्वको खुशियाली मनाउन भन्ने उद्देश्यले सो उपहार प्रदान गरिएको कतार च्यारिटीका सामाजिक सुरक्षा अधिकृत जाहिद खानले बताउनुभयो ।
उहाँले मुस्लिम समुदायको महान पर्व ईदलाई उत्साहका साथ मनाउन ७७ जना बालक र ५३ जना बालिका गरी १३० जना अनाथ बालबालिकालाई जनही चार हजार ४०० रुपियाँ बराबरको कपडा तथा सामग्री प्रदान गरिएको बताउनुभयो ।
ईद उपहार पाएपछि बालबालिका उत्साहित र हर्षित भएका छन् । ईद–उल–फित्र मुस्लिमहरूको सबैभन्दा ठुलो पर्व मानिन्छ । जुन एक महिनाको पवित्र रमजानपछि मनाइन्छ ।
विशेषगरी बालबालिकाहरू यस पर्वको आगमनको उत्सुकताका साथ पर्खाइमा रहेका हुन्छन् । सो अवसरमा कतार च्यारिटीका सहायक सामाजिक सुरक्षा अधिकृत गुड्डी परवीनले बालबालिका र अभिभावकलाई बाल दुव्र्यवहार र शोषणबाट आफूलाई बचाउन सचेत गराउन गुड टच र नराम्रो स्पर्शबारेमा जानकारी गराउनुभएको थियो ।
अनाथ बालबालिकालाई ईदको कपडा उपहार कार्यक्रम बाँके युनेस्को क्लबमार्फत गरिएको कतार च्यारिटिले जनाएको छ ।