• १३ असोज २०८१, आइतबार

अवधि कला संस्कृतिलाई संरक्षण गर्नु जरुरी छ : पूर्व मन्त्री आचार्य

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व मन्त्री सुरेन्द्रराज आचार्य। तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु), चैत २४ गते। नेपाल सरकारका पूर्व मन्त्री, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवम् क्षेत्र नम्बर २ का संसद् सुरेन्द्रराज आचार्यले अवधि कला संस्कृतिलाई संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ। 

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको वडा नम्बर ३ मा आयोजना गरिएको अवधि लोकगीत सङ्गीत संरक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘‘आउने दिनमा अवधि भाषाको लोकगीत सङ्गीतको संरक्षण संवर्द्धन गरिएन भने यो भाषा लोप हुनेछ।’

लोप हुन लागेको लोक संस्कृतिलाई बचाउन आयोजकले गरेको कार्य सराहनीय रहेको बताउँदै अवधि लोकगीत सङ्गीत संरक्षण गर्न सबै सरोकारवालाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो।

पूर्वमन्त्री आचार्यले कला र संस्कृतिको धनी देश भएकाले यहाँ पर्यटक भित्र्याउन तथा पर्यटन प्रवर्द्धन लागि भए पनि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले कला, संस्कृति बिना मान्छेको जीवन अधुरो जस्तै हुने भएकाले मौलिक कला, धर्म र संस्कृतिको जगेर्ना तथा संरक्षणका लागि अब युवा पुस्ता सक्रिय हुनुपर्ने बताउनुभयो।

कार्यक्रममा अहिरउवा नाच, विरह, अल्हा, कहरउवा नाच लगायतको कला संस्कृतिलाई प्रदर्शन गरिएको थियो। 

महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलाम खाँ, उप प्रमुख रिता कुर्मी लगायतको सहभागितामा भएको कार्यक्रम सम्पन्न भएको हो।