• २२ वैशाख २०८१, शनिबार

समान मृत्यु [कथा]

blog

आकाशमा कालो बादल थिएन । आँधी–हुरी चल्ला जस्तो पनि वातावरण थिएन । मानिस सडक छेउबाट हतार हतार हिँडिरहेका देखिन्थे । म, यी सहरका मानिसहरू, के कामले कहाँ पुग्नलाई दौडिरहेका होलान् र के कुराको प्राप्तिमा सडक दौड गर्छन् होला । म त्यसबेला तारकेश्वर नगरपालिकाको नेपालटार राष्ट्रिय मावि अगाडि उभिएर तमासा हेर्दै थिएँ । नेपालटार राष्ट्रिय माविमा मर्मतको काम भइरहेको  थियो । त्यो विद्यालय भवन अगाडि लहरै किताब तथा स्टेसनरी पसलहरू स्कुलतिरै फर्केर, त्यो मर्मत निर्माण नियालिरहेका थिए । त्यहाँ पठन पाठन भइरहेको थिएन । आफ्नो सिङ्गो र तन्दुरुस्त भौतिक देह कायम राख्न, त्यो भवन सिकर्मी, डकर्मी, इन्जिनियरको सहयोगले रङ्गीन नयाँ स्वरूप र सुविधा सम्पन्न बन्ने अविराम यात्रामा थियो । 

म यौटा स्टेसनरी पसलमा बेला बेला जाने गर्थे । मैले आफ्ना लेख रचना त्यहाँ टाइप गर्नलाई दिन्थेँ, मेरो यो क्रम चलिरहेको थियो । त्यो दिन पनि म त्यही स्टेसनरी पसलमा गएको थिएँ । म त्यही पसलको साहु भाइसँग कुरा गरिरहेको थिएँ । एकाएक मेरो कानमा बस रोकेको आवाज आयो, आवाजले कुराको शृङ्खला मात्र टुटाएन, त्यो कर्कस आवाजले म डराएँ र झसङ्ग झस्किएँ पनि । मलाई अहिले पनि थाहा छ, जब म झसङ्ग भएर आवाजतिरै फर्किएँ । यौटा बस ब्रेक लगाएर उभिएको थियो । मैले अरू केही देखिनँ, बसको टायर घस्रिएको डोब मात्र थियो । तैपनि निमेषमै बस अगाडि बढ्यो, सँगसँगै यौटा मोटरबाइक आफ्नै साइडबाट द्रुत गतिमा बसको विपरीत दिशातिर हान्नियो । मैले सोचेँ, यो बाइकसँग आमने सामने हुँदा बसले ब्रेक अकस्मात् लगाएको हुनु पर्छ । मैले यो मनस्थितिमा फेरि साहुतिरै फर्किएँ आफ्नै कुरामा जोडिन थाले तर पुस्तक पसलको भाइले भने, “हेर्नुस् त दाइ गाडीले कुकुर किचेछ ।” भाइको कुराले मैले पनि टाउको पुनः घुमाएँ, जहाँ केही विद्यार्थी केटाहरू, अनि बाइक मोटरको लगातार रप्तार चलेको थियो । बाटामा एक रातो कुकुरको छाउरो रोडमा आन्द्रा देखिने गरी, पुच्छर ठाडो बनाएर अन्तिम प्राण धानिरहेको थियो । हेर्दाहेर्दै उसको ठाडो पुच्छर भुँइमा सुत्यो । यौटा ईश्वरको रचना कोपिलामै समाप्त भयो । उसले प्राण छाड्यो, हो उसको पेटको केही भाग कभर च्यातिएर ब्लाडर निस्केको भलिबल जस्तो देखिन्थ्यो । यो दृश्य आँखाले देखेर, त्यो छेउँमा म पुग्दै गर्दा पचासौँ बाइक, बसहरू, पैदल यात्रीहरू हिँडे कसैले पनि त्यो कुकुरको बारेमा चासो देखाएनन् । कसैले त्यतातिर हेरेका मात्र थिए, कसैले हेरेर पनि त्यही कुकुरको लासमाथि बाइक चढाउलान् जस्तो गरी हुइँकाएका थिए । कुनै बसले कुकुरको लास देखेर पनि रफ्तार घटाएका थिएनन्, बाटाको छेउबाट हिँड्ने बटुवाहरू नाक थुनेर हिँड्न थाले । यी सबै दृश्य मैले नियालिरहँदा मात्र ५–७ मिनेट मात्र बितेको थियो । 

त्यो स्कुलको गेट खोल्दै प्राङ्गणबाट यौटा कालो टोपी लगाएको मान्छे बाहिर निस्क्यो, आफ्नो अगाडि मृत कुकुरको छाउरो देख्यो । उसले एकटकले कुकुरलाई हेरेपछि हामीतिर प्रश्नवाचक पाराले हे¥यो र केही मलिन अनुहार लगाएर सोध्यो, “कुकुरलाई किच्ने मोटर देख्नुभएन ?” उसको प्रश्नको जवाफ नआउँदै मैले प्रतिप्रश्न गरेँ, “कुकुर तपाईंको हो ?” ऊ अलमलमा परे जस्तो, प्याट्ट उत्तर दिएन बरु उसले बिस्तारै भन्यो, “हो भनूँ कि हैन भनूँ, ऊसलाई भर्खर मैले भात खुवाएको थिएँ । ऊ भोक लागेपछि म कहाँ आउँथ्यो, खान्थ्यो, जान्थ्यो तर मैले उसलाई डोरीले बाँधेर पालेको थिएन, मैले कतैबाट किनेर ल्याएको पनि होइनँ । तैपनि यो मेरो घरको सदस्य भइसकेको थियो, मेरो कान्छो छोरासँग धेरै रमाउँथ्यो यो । मेरो छोराले देख्यो भने ऊ धेरै रुने छ, कृपया यो कुकुरलाई यहाँबाट हटाइदिनुस्, ऊ अब स्कुलबाट आउने बेला हुनै थाल्यो ।”

उसको कुराले मलगायत जम्मा भएका हामी सबै अलि उदास भयौँ तर मेरो मनमा यौटा सोचाइ आइरह्यो कुकुरको मृत्युभन्दा आफ्नो छोराको आँसुको मूल्य बढी कसरी भयो ? त्यो मान्छेका लागि । उसै बेला दुई जना हातमा लट्ठी बोकेका थकित प्रहरी आइपुगे र तत्काल बोले, “यो कुकुर कसको हो ? कसले मारेको हो ?” त्यहाँ एकछिन सन्नाटा छायो, कुनै मान्छे बोलेनन् । त्यही बेला यौटा मैलो ज्याकेट र हाप पाइन्ट लगाएको, टाउकोभरि धुलोले छोपेको, करिब १८ वर्षे मान्छे हस्याङ फस्याङ गर्दै आइपुग्यो र उसले प्रहरीको अगाडि पुगेर भन्यो, “कुकुर मेरो गाडीले मारेको हो सर । 

गाडी अगाडि रोकेर राखेको  छु ।” प्रहरी जवानले कडा स्वरमा भन्यो, “तपाईं गाडी मालिक हो ?” त्यो मान्छेले जवाफ दियो, “होइन, म कन्डक्टर हुँ ।” प्रहरी भाइले पुनः प्रश्न ग¥यो, “कुकुर मार्दै बस दौडाउने, लाज लाग्दैन ?” कन्डक्टरले अनुहार रातो बनाएर जवाफ दियो, “कुकुरले आधा सडक क्रस गरिसकेर पनि बसतिरै फर्किएकाले कुकुर बचाउन सकिएन सर ।” केही विद्यार्थीले कन्डक्टरको नाकमा औँला पु¥याउँदै भने, “तिमी बढी कुरा नगर तिमीहरू यस्तो बजारमा बसको गति पनि घटाउँदैनौँ, गति कम भएको भए, बस ब्रेक लगाएको ठाउँमा रोकिन्थ्यो ।” बसको चक्का घस्रिएको ठाउँतिर देखाउँदै, ती विद्यार्थीले प्रहरी जवानलाई देखाउँदै भने, “हेर्नुस सर, तपार्इं अन्दाज गर्न सक्नुहुन्छ, ब्रेक लगाएर पनि तीन मिटर जति पाङ्ग्रा घिस्रिएको छ । गति कम भएको भए बस ठाउँको ठाउँ ब्रेक हान्दा रुक्थ्यो ।”

प्रहरी जवानले विद्यार्थीको कुरालाई सकरात्मक रूपले ग्रहण गरेर मुन्टो हल्लाए । त्यही बेला यौटा बाइकमा प्रहरीको असइ साप आइपुगे र भने, “यो कुकुर पालेको हो ?” प्रहरी जवानले सेलुट मार्दै जवाफ दिए, “हैन सर ।”असइले फेरि कन्डक्टरतिर हेर्दै भने, “यो पृथ्वी सबै प्राणीको हो भन्ने थाहा छैन । सबै प्राणी बाँच्न पाउनु पर्छ, सबै जनावर, पशुपन्छी ईश्वर र प्रकृतिका वरदान हुन् भन्ने कुरा बिर्सियौ ?” असइको आक्रोशयुक्त बोलीमा सत्य तथ्य पनि मिसिएको थियो । कन्डक्टरले पनि फ्याट्ट बोल्यो, “आखिर छाडा कुकुर हो सर यसले व्यस्त सडकमा बाटो काट्न जानेन ।” असइ राता राता आँखा बनाएर कन्डक्टरलाई हप्काउँदै भने, “मान्छे जस्तो, जनावर, पशुपन्छीले बाटो काट्न जान्छ ? हामी मानवले यस्ता प्राणीहरूको रक्षा गर्नु पर्छ । कुकुरको छाउरोले बाटो काट्न जानेन र म¥यो भन्नु त मान्छे नै कुकुरभन्दा तल झर्नु हो, यो बसको ड्राइभर खोइ ?”

कन्डक्टरले भन्यो, “म बोलाएर ल्याउँछु ।” कन्डक्टर हतार हतार ड्राइभरलाई बोलाउन दौड्यो र सबैको आँखा छेद विच्छेद भएको मृत कुकुरको छाउरोमा रोकिए, हामी निःशब्द भयौँ ।  असइले हामीतिर हेरेर भन्न थाले, “कुकुरको छाउरोको सट्टा मान्छेको बच्चो भैदिएको भए के 

हुन्थ्यो ? मान्छेलाई मात्र बाँच्न पाउने अधिकार छ ? यो देशमा ड्राइभर खलासीको बुद्धि कहिले आउने होला ?” असइले लामो सुस्केरा हाले र रफ्तारमा आइरहेको अर्को बसलाई रोक्दै ड्राइभरलाई भने, “गुरुजी गाडी बिस्तारै चलाउनुहोस्, यौटा गुरुले कुकुरको छाउरो मा¥यो, तपाईं मान्छेको बच्चो मार्नुहोला ।” ड्राइभरले फिस्स हाँसेर गाडी अगाडि बढायो, उसले कुनै कुरा बोलेन । असइले एकछिन केही सोचेँ जस्तो गरेर टोलाए, उनका आँखामा आँसु देखियो, हामी असइतिर हेरेर भावुक भयौँ तर पनि हामी कसैलाई उनको आँखाको आँसुमा प्रश्न सोध्ने हिम्मत गरेनौँ ।

उसै बेला कन्डक्टरले आफू जस्तै मिल्दो जुल्दो उमेरको कानमा टप लगाएको, पाखुराभरि टाटु कुँदेको, लामो कपालमा झ्याप्ले पाराको एक आलो काँचो ठेट्नो गुरुजी ल्याएर, औँलाले सिकाउँदै बोल्यो, “गुरुजी उहाँ नै हो सर ।”

असइले गुरुजीको अनुहारमा एक तमासले हेर्दै भने, “उमेर कति भो ?”

गुरु, “१९ वर्ष ।”

असइ, “गाडी चलाउन थालेको कति भो ?”

गुरु, “एक हप्ता”

असइ केही सोँचे जस्तो गरेर सोधे, “उसो भए मान्छे मार्न भ्याइएको छैन ।”

गुरुले सहजै उत्तर दिए, “मारेको छैन ।”

असइले कडा स्वरमा भने, “अब गुरुजी कुकुर त के, कुनै किरा फट्याङ्ग्रा मार्ने पनि तपाईंलाई छुट छैन बुझ्नुभो ? कानुनबमोजिम तपाईंलाई जेलमा कोच्न पनि सकिन्छ ।”

गुरुले मलिन अनुहार लगाउँदै भने, “मबाट यस्तो गल्ती हुने छैन ।”

असइले भने, “यसलाई व्यवस्थापन गर्नुस्, मलाई गाडी नम्बर दिनुस् ।” कन्डक्टरले गाडी नम्बर टिपेर तत्काल दियो र एकैछिनमै च्यातिएको ब्लाङ्केट खोजेर ल्याएर झ्याप्प कुकुरलाई ओढाइदियो, यौटा बोरामा गुटीमुटी पारेर कोच्यो, मृत कुकुरको छाउरोलाई बोकेर, ऊ आफ्नो अलिपर रोकिराखेको बसमा गुरुजीसँगै चढ्यो । सायद अब उनीहरूले त्यो कुकुरलाई कतै खोलातिर फालिदेलान् । म घरमा गएर सोँचिरहे, आज मेरैसामु कुकुर म¥यो, कुनै बेला हामी मानिस पनि कुकुर मरे झैँ मर्न सक्छौँ । हुन त यो पृथ्वीमा सबै प्राणी जगत्को जन्मको पनि बरोबर महत्व भए, मृत्युमा पनि समानता नै हुनुपर्ने होइन र ? कि कसो ?   

Author

सनतकुमार आचार्य