• ११ मंसिर २०८१, मङ्गलबार

श्रीअन्तुको सूर्योदय

blog

एक निजी कार्यक्रममा सरिक हुन मोरङ पुग्नु पर्ने भयो । गत फागुन ९ गते बिहान निजी सवारीबाट बिपी राजमार्ग भएर सिन्धुलीको दुधौली हुँदै उदयपुर गाईघाटलाई पछाडि छोडेर अघि बढ्ने पक्का मात्रै भएन, सखारै घरबाट हिँडियो नै । धुलिखेल–भकुण्डेबेँसीको घुमाउरो सडक जति उता गयो, उति सर्प आकार भेटिन्छ । अग्लो–होचो डाँडाकाँडामा त घुम्ती मोड छ तर सम्म ठाउँलाई पनि यति घुमाउरो पाराले किन लगेको होला ? त्यो बाटो लागिसकेपछि सधैँ उब्जिने जिज्ञासा हो । 

गाडी नलागी आरामले बाटो पार गरेको सम्झना मसँग बिरलै छ । कुनै यात्रा रहरले गरिन्छ भने कुनै बाध्यताको हुन्छ । आखिर यात्रा यात्रै हो । मान्छेको शारीरिक बनोट अनुसार हुन्छ क्यार– बाटो सजिलो र अफ्ठ्यारो । कोहीसँग साटफेर गर्न नमिल्ने, देवी–देउता भाके पनि निको नहुने, नितान्त–निजी भोगाइ हो, मलाई गाडी लाग्नु ।

बहिनी कलाको आग्रह थियो, “दिदीहरू विराटनगर आएका बेला इलाम घुम्न जानु पर्छ ।” हुन त हो तर धेरै दिन घर छोडेर बाहिर अलमल गर्न फुर्सद नहुनाले थोरै दोमन भए पनि इलाम पुगेर फर्कन लामो यात्रा नहुनाले तुरुन्तै निर्णय गरेर हिँडी हाल्यौँ । फागुन ११ गते बिहान ९ बजे बाटो लागेका हामी झापाको चिया बगानलाई आँखाभरि सजाउँदै अगाडि बढ्यौँ । 

लमतन्न कालोपत्रे पिचबाटोबाट कन्याम पुगेको पत्तै भएन । चियाको राजधानीभित्र पुग्दाको आनन्द महसुस गर्न गाडी नरोकि कसरी अगाडि बढ्नु ? क्यामेरामा कैद हुनु अर्को जरुरी काम, त्यो पनि फत्ते गर्नै प¥यो । टाढादेखि धाएर घरीघरी पुग्न कहाँ सकिन्छ । बिपी राजमार्गको मेरो बेथा यता सर्लक्क कलालाई स¥यो । यो बाटो उनका लागि अफाप्रसिद्ध भयो । अतः उनको बेथा मैले केवल महसुस गर्न सक्थेँ । दुई पाङग्रे चलाएर संसार घुम्ने/पुग्ने बहिनीलाई चार पाङ्ग्रेले वशमा राखेको देखेर अचम्म लाग्यो । 

कन्याममा चलेको बतास बाफ रे बाफ कर्णाली पुललाई नै बिर्साउने कति तेज कति ! दुब्ला–पातला मानिस त्यहाँ पुगे पाइताला खियाएर हिँड्नै नपर्ने जस्तो भान भयो । हावाले दसकोश पर फ्याँक्न खोजे पनि हामीले आनन्द महसुस ग¥यौँ । भाइ हेमले गाडी छेउ लगाएर पाइला चाल्ना साथ तुरुन्तै अर्को जागिर पाए । हाम्रो फोटो तथा भिडियो खिच्ने जागिर ! 

कन्यामको डाँडाले बहिनी कलाको मोबाइललाई निष्क्रिय बस्न दिएन । हेर्दै स्वर्ग देखिने त्यस ठाउँमा आन्तरिक पर्यटकको घुइँचो आँखाभरि ताजा छ । के बालबालिका, के युवा, के वृद्धवृद्धा सबैको जमात देख्दा मनै हरहर भयो । कुनै समय थियो, विदेशीहरू मात्रै डुल्छन्, घुम्छन् । विभिन्न देश देशान्तर पुग्छन् भन्ने तर अब त्यो समयले कोल्टे फेरिसक्यो । 

त्यहाँ घोडसवार गर्ने कि विशेष प्रविधिको क्यामेराबाट पोजपोजका फोटा खिच्ने । भेषभूषा कुन जातको कुन पहिरनमा लगाउने ? कस्तो ‘डिजाइन’ को गहना लगाउने ? कपडा र गरगहनाको स्टल र ‘स्टाइल’ हेर्दा हाम्रो मन नलोभिने कुरै भएन । त्यो दिन त्यतैलाई अर्पेर बाटो लागिएको हुनाले समय बितोस्–बगोस्–नासियोस्–सकियोस् ढिलो भयो भन्ने भएन । हामी श्रीअन्तु पुग्नु थियो । भोलि बिहानको सूर्योदयलाई नमन गर्न ।

कन्यामका व्यावसायीहरूले साँझ न बिहान कुनै प्रहर पनि यहाँ हावा रोकिँदैन भने । त्यति धेरै मानिसको चहलपहल देखिनु उनीहरूका लागि यो सिजन नै होइन भन्ने आशयको कुराले सिजनमा कति पर्यटक आउलान् ? कन्याम मेरो पहिलो यात्रा होइन । दुई दशक अघि सपरिवार झापा, इलाम हुँदै पशुपतिनगरबाट दार्जिलिङ पुगेको स्मरण गरेँ । त्यति बेला श्रीअन्तु पुगन साइत जुरेन । पछि श्रीमान् इलाममा नोकरी गर्दा पनि पाँचथरसम्म पुगेँ तर यो बेला पनि श्रीअन्तु ओझेलमा प¥यो । यसर्थ समयले नजुराइ कोही कहीँ पुग्न सक्दो रहेनछ । 

श्रीअन्तुबाट घाम झुल्केको देखिन्छ भन्ने कुरा उही बेला सुनेको हो । सामाजिक सञ्जाल फेसबुकले हामी त्यता लागेको खबर फैल्यायो नै । त्यो देखेर धेरै जनाले भने–चार/पाँच पटक भयो, सूर्यनारायण कसरी जन्मिन्छन् ? प्रत्यक्ष आँखाले हेरौँ न त भनेर धाएको तर गयो आयो, कहिल्यै देख्नै पाइएन । किन पाइएन ? बादलले ढाकेर हो कि अन्य कारणले ? मेरो मगजमा थुप्रै जिज्ञासा उब्जिए । अर्को कौतूहल यहाँ यसरी मान्छेको चहलपहल कहिलेदेखि र कसरी सुरु भयो ?

अन्तुमा संयोगले स्थानीय धनकुमार आलेमगरसँग गफिने मौका मिल्यो । श्रीअन्तुको चहलपहलबारे मेरा जिज्ञासामा उहाँ भन्नुहुन्छ, “धेरै समयअघिदेखि नै यस स्थानमा लामा र साधुसन्तहरू भाकल गरेर पूजाआजा गर्न आउँथे रे, जुन बेला इन्डियामा ब्रिटिसले शासन गरेका थिए ।” लेप्चा भाषामा ‘अत्तु कुङ’ भनेको अग्लो डाँडा हो । अपभ्रंश हुँदै अन्तुडाँडा बन्यो । यसरी लेप्चाहरूको संरक्षणमा पहिला यो ठाउँ जोगियो र पछि व्रmमशः जगमगायो, झाङ्गियो, फव्रिmयो । 

२०४० साल यता पर्यटनको कुरा आएपछि यहाँ बिना शुल्क पाहुना राख्न थालियो । त्यतिखेरका आगन्तुकलाई आफूसँग जे छ खुवाउने चलन चल्यो । राति बस्ने भए त्यही किसिमको व्यवस्था गर्नु पथ्र्यो । निःशुल्क सधैँभरि थेग्न नसक्ने भएपछि २०५० सालमा अन्तु डाँडा होमस्टे भनेर धनकुमारले नै सुरु गर्नुभयो । त्यो बेला पचास रुपियाँमा बेलुकाको खाना, सुत्न र बिहानको चिया र नास्ता खुवाइन्थ्यो । 

२०५७ सालमा अन्तु पर्यटन विकास केन्द्र भन्ने संस्था धनकुमारहरूले नै जन्माउनु भयो तर त्यतिखेरसम्म पनि नेपालमा होमस्टेसम्बन्धी कानुन बनिसकेको थिएन । अलि अलि गर्दै खोलिएका होमस्टेलाई अन्तु पर्यटन विकास केन्द्रबाटै निगरानी गरी चलाइयो । २०६० सालदेखि लगातार दस वर्ष पर्यटन महोत्सव भयो । त्यसले गर्दा यस ठाउँको प्रचारप्रसार भयो । जातजाति, भाषाभाषी, यहाँको समुदाय, कला र संस्कृति साथै सन् राइज हेर्न आउनेको सङ्ख्या पनि बढ्यो । यतिखेर होमस्टे एसोसियसनको केन्द्रीय सदस्यका रूपमा धनकुमार रहनुभएको छ । पछिल्लो समय स्थानीय सरकारले समेत व्यवसाय गर्न सिफारिस दिएको हुनाले होटेल र कटेज धेरै खुले । 

श्रीअन्तु डाँडामा देखिएको सल्लाका वन २०३४/३५ सालमा रोपिएका हुन् । यो वन वरपरको समुदायको हेरचाहमा हुर्केको हो । एक लाख सल्ला र पन्ध्र हजार चाप हुर्काउन कर्मचारी पनि खटिएका रहेछन् । यो कुरा पनि धनकुमारबाट नै जानकारी पाइयो । 

बिहानको प्रतीक्षामा अन्तु पोखरीको डिलमा बसेर सौन्दर्यको पान गर्दै थियौँ । सिमसार ठाउँलाई वरिपरि बारेर पानीको जतन गरिएको रहेछ । यस ठाउँमा डुङ्गा नै चलाइँदो रहेछ । डुङ्गामा पोखरी दुई पटक घुमेको भाडा ५० रुपियाँ लाग्दो रहेछ । त्यहाँ बनेका होटल/कटेजको छानामा रातो रङको जस्ता लगाउने चलनले यो ठाउँ नै दुलही झैँ सिँगारिएको रहेछ । यही सौन्दर्यमा हामीले केही फोटो र भिडियो खिच्यौँ । 

बिहान ४ बजे नै उठेर नित्य कर्म सक्यौँ । ओहो ! आज त घाम झुल्केको हेर्ने दिन । साँच्चै, यो बेला अन्तु डाँडामा के भइसक्यो होला ? त्यता पुग्न ढिलो पो हुने हो कि ? हस्याङफस्याङ गर्दै ५.१५ बजे कोठाबाट बाहिरियौँ । थोरै बाटो गाडीमा गएर पैदल उकालो लाग्यौँ । अँध्यारो भागेको थिएन, हिँड्न नसक्नेहरूका लागि घोडा हाजिर थिए । 

हामी चाँडो छौँ भन्ने भ्रम मान्छेको ताँती देख्दा सकियो । टिकट काटेर अन्तु डाँडा प्रवेश ग¥यौँ । अब सूर्योदय कसो नदेखिएला त भन्दै ‘भ्यु टावर’ माथि उक्लियौँ । उपस्थित सबैले सूर्योदय हेर्न आँखा नझिम्क्याइ क्षितिजलाई ताकेका देखियो । 

छ बज्नै लागेको थियो, सिन्दूरे आकाश र सुनको लेप लगाए जस्तो हिमाल हेर्नुका आनन्द शब्दमा कसरी वर्णन गर्नु ? नवीन दृश्यसँग प्रेमिल भेटको सौजन्य, वास्तवमा रहस्यमय आनुभूति हुनेवाला थियो । त्यो चिसोमा छ महिना पनि नपुगेका बालकलाई बोकेर पुगेकाहरूलाई हेर्दा सुन्दरताको भोक कति हुन्छ ? यसको मापन कसले गर्ने ?

अचानक हल्ला फैलियो आयो ! आयो ! खोइ कहाँबाट आयो ? हाम्रै टिमको आवाज थियो त्यो । मैले घडी हेरेँ ६:२० भएको रहेछ । धुपौरोमा भर्भराउँदा कोइला राखे जस्तो झलल्ल देखियो । हाम्रा आँखा एकटकले त्यसैमा हेर्दाहेर्दै रातो भकुण्डोको आकार लिन उद्यत देखियो । अब किरणहरू बिस्तारै छरिन थाले र त्यो फैलावट हामीसामु आइपुग्यो । सूर्योदयको अपार दर्शन पाएका आँखा आनन्दले रसाए । त्यो दृश्यले सबै उज्यालियौँ, धर्ती उज्यालियो ! खुसीले अनुहारहरू राता भए । मन ढकमक्क भयो । चमत्कारी रूपसामु यति मग्न भयौँ, फोटो भिडियो खिच्न छोडेर एकतमासले हेरेको हेर्यै भयौँ । आफैँलाई भुल्यौँ । हाम्रो लख एकतिर थियो तर सूर्योदय अर्कै ठाउँबाट भयो । सूर्यनारायणलाई नमन ! अञ्जुलीमा राखेर क्यामेरामा कैद हुन हतार अर्को रमाइलो क्षण बन्यो ।     

हामीले हरेक दिन बिहान घाम उदाएको देख्छौँ तर त्यो सबै ठाउँमा एकनास नहुँदो रहेछ । श्रीअन्तु त्यस्तो ठाउँ रहेछ, जहाँबाट घाम बेहुली झैँ अन्मिएर सबैका अघिल्तिर उपस्थित हुने रहेछ । सूर्योदय हेर्न श्रीअन्तु जानु पर्छ भन्ने रहस्य बल्ल अनुभूत भयो । यो अविस्मरणीय क्षणमा हामी सबै रमायौँ । त्यो प्रिय क्षणमा मलाई लाग्यो, यही हो जिन्दगीको सुखद यात्रा !

   

Author

बिन्दु अधिकारी ढकाल