• १४ मंसिर २०८१, शुक्रबार

अहिलेको गठबन्धन बलियो समीकरण : अध्यक्ष ओली

blog

जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष ओली । तस्विरः अर्जुन काफले

अर्जुन काफ्ले

स्याङ्जा, चैत २३ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन बलियो समीकरण  भएको बताउनुभएको छ ।  

एमाले स्याङ्जाको नवौँ जिल्ला अधिवेशन पुतलीबजार नगरपालिका –१ मा रहेको सिटीहलमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले २०८४ सम्म अहिलेको गठबन्धन कायम रहने बताउनुभयो । 

पार्टी सङ्गठनलाई एक ढिक्का बनाएर अघि बढ्न उहाँले जिल्लाका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । अध्यक्ष ओलीले गुट बनाएर पार्टी कमजोर हुने भन्दै त्यसो नगर्न निर्देशन दिनुभयो । नेपाली जनता एमालेको साथमा रहेकाले जनतासँग मिलेरै देशको विकास गर्ने बताउनुभयो ।  

अध्यक्ष ओलीले जनताभन्दा पनि केही नेताहरु व्यक्तिगत स्वार्थमा लागेकाले देश बनाउने काममा समस्या भएको चर्चा गर्नुभयो । एमालेविरुद्ध सरकार र सत्ता तथा अदालत प्रयोग भएको बताउँदै अध्यक्ष ओलीले एक पटक नभइ पटक–पटक भएको दाबी गर्नुभयो । 

स्याङ्जा सङ्घर्ष बोकेको, चेतना, राजनीति सबै क्षेत्रमा अगाडि रहेको बताउँदै अध्यक्ष ओलीले मरेको मान्छेको भोट हाल्ने जिल्ला पनि रहेको व्यङ्ग्य गर्नुभयो । अघिल्लो चुनावमा क्षेत्र नं २ मा काँग्रेसले अनेक छलछाम गरी निर्वाचन जितेको उहाँले आरोप लगाउनुभयो ।

आफू २०४२ कात्तिकमा स्याङ्जा जेल बसेको स्मरण गर्दै यहाँका नेता कार्यकर्ताबाट माया पाएकाले आफ्नो आत्मबल बलियो भएको उहाँले चर्चा गर्नुभयो । दुई दिनसम्म चल्ने अधिवेशनले १०५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने एमाले स्याङ्जाले जनाएको छ । 

नौ हजार ५४३ जना पार्टी सदस्य रहेको स्याङ्जा अधिवेशनमा ११ पालिकाकाका ६०९ जना प्रतिनिधि सहभागी छन् । नयाँ नेतृत्व सहमतिबाट नेतृत्व चयन हुने बताइए पनि वर्तमान अध्यक्ष सूर्यप्रसाद गैरे, नारायणप्रसाद मरासिनी, राजेन्द्र डुम्रे अध्यक्षको आकांक्षी देखिएका छन् ।