• १४ मंसिर २०८१, शुक्रबार

प्रेस रजिष्ट्रार नियुक्त गर्न समिति गठन

blog

फडिन्द्र अधिकारी

लेखनाथ, चैत २३ गते । गण्डकी प्रदेशमा प्रेस रजिष्ट्रारको कार्यालय स्थापना र प्रेस रजिष्ट्रार नियुक्ति प्रक्रिया सुरु भएको छ । गण्डकी प्रदेश आम सञ्चार ऐन २०८० बनेपछि सञ्चार मन्त्रालयसमेत हेर्नुहुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उर्जा, जनस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गर्नुभएको हो ।

समितिका सदस्यमा सञ्चारविज्ञको रुपमा पत्रकार रवीन्द्र बास्तोला र मन्त्रालयका सचिव तीर्थराज भट्टराई सदस्य रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता प्रवीण ढकालले जानकारी दिनुभयो । छनोट समितिले आफैं कार्यविधि बनाई बढीमा तीन जनाको नाम प्रदेश सरकारसमक्ष पेश गर्ने व्यवस्था छ । ती तीन जनामध्येबाट एकलाई प्रदेश सरकारले प्रेस रजिष्ट्रार नियुक्त गर्नेछ । 

गण्डकी प्रदेशसभाले गएको फागुन २१ गते पारित गरेको आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक चैत ९ गते प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणीकरण गर्नुभएको थियो । यसमा प्रदेशको ११ औँ तहको कर्मचारी अर्थात् प्रदेश सचिवसरहको प्रेस रजिष्ट्रारको व्यवस्था छ । 

प्रदेशका सञ्चारमाध्यमको अनुगमन, विज्ञापनको अनुगमन, सञ्चार माध्यम वर्गीकरण, प्रदेशको सञ्चार नीति निर्माण जस्ता अधिकारी प्रेस रजिष्ट्रार कार्यालयलाई दिइएको छ ।