• ८ जेठ २०८१, मङ्गलबार

नारायणगढ बुटवल सडक विस्तार

blog

कावासोती डण्डा चोरमारा खण्डमा कालोपत्रे गरिँदै ।

मीना कंडेल

कावासोती, चैत २२ गते । नारायणगढ-बुटवल सडक विस्तार योजना अन्तर्गत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर सडक कालोपत्रे भएको छ । पूर्व पश्चिम राजमार्गको गैँडाकोटदेखि दाउन्ने सम्मको पूर्वी खण्डको ६५ किलोमिटर सडकमध्ये १९ किलोमिटर एक तर्फ र अर्कोतर्फ १० किलोमिटर गरी २९ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको आयोजनाले जनाएको छ ।

आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी एवम् इन्जिनियर शिव खनालले पूर्वी खण्डको ६५ किलोमिटरमा ४८ दशमलव ६१ प्रतिशत काम सम्पन्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बस्ती क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी कामको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्डमा ४८ दशमलव ६१ प्रतिशत काम सकिएको छ, कालोपत्र गर्ने, सानाठुला पुल निर्माण गर्ने लगायतका कामसँगै अघि बढिरहेको छ ।” सडकको ४२ दशमलव सात किलोमिटर खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको करिब पाँच किलोमिटर सडक तीन लेनको हुने सूचना अधिकारी खनालले बताउनुभयो ।

अहिले दैनिक जसो कालोपत्रे गर्ने काम भएको र डण्डा चोरमारा खण्डमा एक दुई दिनमा कालोपत्रेको काम सकिने उहाँले बताउनुभयो । पूर्वी खण्डको कावासोती र डण्डा बजार क्षेत्रमा भने दुईतर्फी रूपमा कालोपत्रे गर्ने गरी काम चलिरहेको उहाँले बताउनुभयो । सडकका सानो २२ वटा (माइनर ब्रिज)मा सबै काम सकिएको खनालको भनाइ छ । निर्माणकै क्रममा पूर्वी खण्डका ठुलो (मेजर ब्रिज) १२ ठुला पुलहरु निर्माणको काम समेत चलिरहेको उहाँले बताउनुभयो ।  

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका ठेक्का सह व्यवस्थापक राकेश झाँले आफूहरूले आउँदो असार सम्ममा गैँडाकोटदेखि दुम्किबास सम्म एकतर्फी सडक कालोपत्रे गरेर सक्ने लक्ष्य राखेर काम गरिरहेको बताउनुभयो । ठुला पुलमा गर्डर राख्ने काम समेत सकिएको उहाँले बताउनुभयो  । 

नवलपुरको गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडक ‘क’ खण्डमा राखिएको छ । दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किलोमिटर सडकलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । करिब रु १७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा अघि बढाइएको हो । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको विस्तारको दोस्रो पटक थपिएको म्याद आउँदो साउनमा सकिँदै छ ।