• १३ साउन २०८१, आइतबार

गण्डकी गाउँपालिकामा निःशुल्क स्वास्थ्य बिमा

blog

गुणबहादुर रोका

सुलीकोट, चैत २२ गते । गोरखाको गण्डकी गाउँपालिकाले एक सय ५ जना दीर्घरोगी र गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य बिमा गरेको छ । गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीका अनुसार गाउँपालिकाकले निकालेको सूचना अनुसार दीर्घरोगी र गर्भवती महिला सूचीकृत हुन आएकाले उहाँहरुलाई वार्षिक एक लाखसम्मको बिमा निःशुल्क गरिएको हो । 

गण्डकी गाउँपालिकाले आफ्नो पालिकाको एकदेखि ८ नम्बर वडासम्म दीर्घरोगी र गर्भवती महिलाहरुको लागि २०८१ जेठ १ गतेबाट स्वास्थ्य सेबा लिन मिल्ने गरी बिमामा आबद्ध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत उपरकोटीको भनाइ छ । 

निःशुल्क स्वास्थ्य बिमा पाउनेमा गाउँपालिकाभरिका जम्मा ७५ जना गर्भवती महिला र ३० जना दीर्घरोगी आबद्ध भएका छन् । यही चैत २१ गतेसम्म पहिलो चरणमा जम्मा स्वास्थ्य बिमामा आबद्ध भएका १०५ जना परिवारलाई ३ हजार ५ सयका दरले पहिलो चरणमा ३ लाख ६७ हजार ५ सय रुपियाँ गाउँपालिकाले भुक्तानी गरिदिएको छ । 

चालु आर्थिक वर्षमा गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत १० लाख रुपियाँ बजेट विनियोजन गरिएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सना साकारले जानकारी दिनुभयो । पालिकाभित्रका गर्भवती महिला तथा दीर्घरोगीहरुलाई उपचारमा कुनै कमी नहोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम लागु गरिएको उहाँले बताउनुभयो । 

आगमी आर्थिक वर्षमा विपन्न, दीर्घरोगी र गर्भवती महिलाहरुको पहिचान गरी स्वास्थ्य उपचारको लागि कुनै कमी नराख्न थप बजेट विनियोजन गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष तिमल्सेनाको भनाइ छ ।