• २० वैशाख २०८१, बिहिबार

हुम्लाका विद्यालय पाठ्यपुस्तक पुग्यो

blog

सिमकोट गाउँपालिका– ७ को कैलाश माविका बिधार्थीहरुलाई पुस्तक । तस्बिर: राजन रावत

हुम्ला, चैत २२ गते । नाम्खा गाउँपालिकाको एउटा बाहेक जिल्लाका सबै सामुदायिक विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको पाइएको छ । यसअघि कक्षा पाँचसम्म पुगे पनि चैत महिनाको दोस्रो हप्तापछि कक्षा छ देखि दशसम्मका पाठ्यपुस्तक विद्यालयमा पुगेका हुन ।

चार गाउँपालिकामा पुस्तक ढुवानीको कार्य गरेको एल.बी. सप्लायर्सका सञ्चालक लोकेन्द्र भण्डारीले  आफ्नो जिम्मामा सबै ७५ वटा विद्यालयमा पाठ्यपुस्तक गाउँपालिकामा पुगेर विद्यार्थीहरुको हात हातमा वितरण गरिएको बताउनुभयो । उहाँले गाउँपालिका अनुसार ताँजाकोटमा १७ वटा, अदानचुलीमा १९ वटा, चङ्खेलीमा २२ वटा र खार्पुनाथका १७ वटा विद्यालयमा पाठ्यपुस्तक पठाइएको बताउनुभयो । कक्षा एकदेखि पाँचसम्म फागुन महिनामा पुस्तक पुर्‍याएको भए पनि चैत दोस्रो हप्तायता बाँकी सबै कक्षाका पुस्तक विद्यार्थीहरुको हातमा पुर्‍याउने कार्य भएको हो ।

उत्तरी क्षेत्रका दुई वटा गाउँपालिका सिमकोट र नाम्खाका  ३९ वटा विद्यालयहरूमध्ये नाम्खा गाउँपालिका– ६ को लिमीको सुनखानी आवि बाहेक अन्य ३८ वटा विद्यालयहरूमा पाठ्यपुस्तक पुर्‍याउन सफल रोकाया पुस्तक पसलका प्रतिनिधि ज्ञानबहादुर रोकायाले सबै कक्षाका पुस्तक पुर्‍याउने कार्य पुरा भएको बताउनुभयो । लिमीको सो विद्यालयमा पनि सडकमा हिउँ जमेर आवतजावत बन्द भएको कारण पाठ्यपुस्तक पुर्‍याउन नसकिएको हो । यता ज्ञानु पुस्तक पसलले पनि  सर्केगार्ड गाउँपालिकाका ३२ वटा विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउने कार्य पुरा भएको जनाएको छ ।  हुम्लाका विद्यालयहरूमा गत फागुन ९ गते यता पढाइ सुरु हुन थालेको थियो ।

जनक शिक्षा सामाग्री केन्द्र नेपालगन्जका प्रमुख होमराज डङ्गोलले हुम्ला जिल्लाका पाँच वटा गाउँपालिकाका विद्यालयहरूका लागि ३६ हजार थान पुस्तक सप्लायर्सले बुझेर लिई जिल्लामा पुर्‍याए बिक्री गरेको जानकारी आएको बताउनुभयो । बाँकी तीन वटा गाउँपालिकाका लागि केन्द्रको सुर्खेत डिपोबाट वितरण गरिएको थियो । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज कार्कीले जिल्लामा कुल विद्यालयहरूका २१ हजार ६८ विद्यार्थीहरुको हातमा पुस्तक पुगेको बताउनुभयो ।

सबै कक्षाका विद्यार्थीहरुलाई हात हातमा पुस्तक पुगेपछि पठनपाठन पनि सहज भएको छ । हुम्लाका लागि केन्द्रले चैत १२ र १३ गते वितरण गरेको थियो । 

Author
राजन रावत

उहाँ हुम्लाबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।