• ११ मंसिर २०८१, मङ्गलबार

आक्रमणपछिको मस्को रणनीति

blog

युक्रेनसित युद्ध गरिरहेको रुस यतिखेर आतङ्कवादको चपेटामा परेको छ । कडा सुरक्षाका बिचमा पनि रुसको राजधानी मस्कोस्थित कन्सर्ट हलमा भएको आतङ्कवादी आक्रमणले रुसी अधिकारीहरूलाई चिन्तित बनाएको छ । आतङ्कवादी आक्रमणपछि मस्कोले आफ्नो सुरक्षा रणनीति परिवर्तन गर्दै आतङ्कवादीप्रति कडा रूपमा प्रस्तुत भएको छ । मस्को आक्रमणको जिम्मेवारी लिएको इस्लामिक समूह आइएस स्टेटविरुद्ध रुसले कडा कारबाही गर्ने भएको छ । 

गएको मार्च २३ मा साङ्गीतिक कार्यक्रम भइरहेका बेला आइएस स्टेटका बन्दुकधारीको समूहले कन्सर्ट हलमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदै पेट्रोल बम प्रहार गर्दै आक्रमण गर्दा ठुलो जनधनको क्षति भयो । साङ्गीतिक कार्यक्रममा रमाइरहेका निहत्था १३३ जना मानिस मारिए भने दुई सयभन्दा बढी घाइते भए । मारिने र घाइते हुनेमा बालबालिका पनि छन् । आक्रमणसँगै गरिएको आगजनीले कन्सर्ट हलसमेत ध्वस्त भएको छ । आक्रमणकारी सैन्य पोसाकमा आएका थिए ।

रक समूह पिकनिकले आयोजना गरेको कन्सर्ट हेर्न छ हजारभन्दा बढी मानिस क्रोकुस सिटी हल र कन्सर्ट आयोजना हुने परिसरमा पुगेका थिए । एक जना प्रत्यक्षदर्शीले सो ब्यान्ड स्टेजमा आउनु केही मिनेटअघि मात्रै आक्रमण सुरु भएको थियो । एक जना सुरक्षा गार्डले भारी हतियारसहित आएका आक्रमणकारीले प्रवेशद्वारबाटै गोली चलाउन थालेको, त्यसबेला आफू र आफ्ना साथीहरूले प्रवेशद्वारमा काम गरिरहेको बताए । सो घटनापछि राजधानीमा तय भएका सबै कार्यक्रम, दोस्रो ठुलो सहर सेन्ट पिटर्सबर्गसहित अन्य सहरमा पनि कैयौँ कार्यक्रम रद्द गरिएका छन् । पछिल्लो आक्रमणपछि रुसमा विमानस्थल र स्टेसनमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

रुसी अधिकारीहरूले सो घटनामा पक्राउ परेका ११ जना व्यक्तिमध्ये चार जना घटनामा प्रत्यक्ष संलग्न भएको बताएका छन् । एक जना रुसी सांसदका अनुसार घटनाका मुख्य आरोपी चार जना कारमा भागेर घटनास्थलभन्दा सयौँ किलोमिटर टाढा रुसको दक्षिणपश्चिमी क्षेत्र पुगिसकेका थिए । अमेरिकी अधिकारीहरूले आफ्नो गुप्तचरी सूचना इस्लामिक स्टेटको दाबीसँग मेल खाएको जनाएका छन् । दुई साताअघि अमेरिकी राजदूतावासले उग्रवादीले आक्रमणको योजना बनाइरहेको भन्दै मस्कोमा रहेका आफ्ना नागरिकलाई भिडभाड हुने ठाउँमा नजान सचेत गराएको थियो । रुससँग युद्ध गरिरहेको युक्रेनले यस घटनामा आफ्नो संलग्नता नरहेको बताएको छ । यद्यपि रुसी अधिकारीहरूले युक्रेनको संलग्नता भए/नभएको सम्बन्धमा अनुसन्धान गरिरहेका छन् । 

संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले उक्त आक्रमणलाई ‘अक्षम्य र लाछी आतङ्कवादी हमला’ भन्दै आतङ्कवाद अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा ठुलो चुनौती रहेको जनाएको छ । रुसी विदेश मन्त्रालयले उक्त ‘बर्बर आक्रमण’ लाई निन्दा गर्न त्यसअघि विश्वलाई अपिल गरेको थियो । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि गोलीकाण्डका पीडितप्रति आफ्नो सहानुभूति रहेको जनाएको छ । ह्वाइट हाउसले आफूले रुसी अधिकारीहरूलाई मार्चको सुरुवातमा मस्कोमा ठुला भिडहरूमा निसाना बनाउँदै आक्रमण हुनसक्ने चेतावनी दिएको पनि उल्लेख गरेको छ । फ्रान्स, स्पेन र इटालीले पनि आश्चर्य प्रकट गर्दै हमलाको निन्दा गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएको छैटौँ दिनमा सो आतङ्कवादी आक्रमण भएको हो । यो आक्रमण वर्षौंयता मस्कोमा नागरिकमाथि गरिएको सबैभन्दा खराब आक्रमण हो । यसले सन् २००२ मा चेचेन उग्रवादीहरूले एउटा थियटर नियन्त्रणमा लिएर नौ सय मानिसलाई बन्धक बनाएका थिए । सो बन्धक प्रकरण अन्त्य गर्ने क्रममा १३० जनाको ज्यान गएको थियो । रुसी सुरक्षा निकायहरू त्यसबेला निद्रा लगाउने ग्यास प्रयोग गर्दै उक्त थियटरभित्र प्रवेश गरेका थिए । 

इस्लामिक स्टेटको एउटा भ्रातृ सङ्गठनले मस्कोमा भएको आक्रमणमा आफ्नो हात रहेको जनाएको छ । यो सत्य भए इस्लामवादी उग्रवादीहरूले रुसभित्र वा रुसलाई निसाना बनाएर गरेको यो पछिल्लो आक्रमण हो । सन् २०१५ मा इजिप्टको साइनाई मरुभूमिमा २२४ जना यात्रु सवार एउटा रुसी विमानलाई खसालिएको थियो । उक्त घटनामा मारिने अधिकांश यात्रु रुसी थिए । इस्लामिक स्टेटले सो आक्रमणको जिम्मा लिएको थियो ।

दुई वर्षपछि सन् २०१७ मा सेन्ट पिटर्सबर्गको मेट्रोमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको थियो । सो हमलामा पनि उक्त उग्रवादी समूह जोडिएको थियो । उग्रवादी समूहहरू रुसी सुरक्षा बलसँग उत्तरी ककेसस क्षेत्रमा दशकौँदेखि लड्दै आएका छन् । १० वर्षअघि इस्लामिक स्टेट समूह गठन हुँदा उनीहरूमध्ये ठुलो सङ्ख्या त्यसमा आबद्ध हुन सिरिया गएका थिए । रुसको उत्तरी ककेससमा रहेका केही उग्रवादीहरूले उक्त समूहसँगको आफ्नो आबद्धता घोषणा गरेका छन् । उक्त समूहले क्रेमलिनले मुसलमानहरूमाथि चेचेन्या र सिरिया अनि सोभियतकालीन अफगानिस्तानमा अत्याचार गरेको आरोप लगाउने गरेको छ ।

अफगानिस्तानमा अमेरिकी सेना फिर्तासँगै पुनः उग्रवादी तालिबान समूहले सत्ता कब्जा गरेपछि तालिबान, अल कायदा र आइएस स्टेटको मनोबल बढेको छ । कतिपय विज्ञहरूले अब एसियामा उग्रवादीहरूको युग सुरु हुने चिन्ता व्यक्त गरेका छन् । अमेरिकाले अल कायदा प्रमुख ओसामा विन लादेनलगायत उच्च नेतालाई मारेपछि पछिल्ला वर्षहरूमा निकै कमजोर भए पनि सक्रिय अलकायदा र आइएस स्टेट फेरि सलबलाउन थालेका छन् । अमेरिकासँगको सम्झौतामा तालिबानले पश्चिमा देशहरूमाथि निसाना बनाउने कुनै पनि अतिवादी समूहलाई आश्रय नदिने बताए पनि अलकायदा र आइएस स्टेटसँग तालिबानको सम्बन्ध जोडिएको छ । आइएस स्टेटले आफ्नो उपस्थिति देखाउने सन् २०२१ को अगस्त २६ मा काबुल विमानस्थलबाहिर आक्रमण ग¥यो । हमलामा १३ अमेरिकी सैनिकसहित १७० जना मारिएका थिए ।

तालिबान अफगानिस्तानको सबैभन्दा महत्वपूर्ण खेलाडी हो । अलकायदा आफ्नो सञ्जाल पुनः निर्माण गर्न प्रयासरत अन्तर्राष्ट्रिय जिहादी समूह हो । आइएस स्टेट पनि उस्तै नै हो तर यो अलकायदा र तालिबानभन्दा अलि फरक छ । अलकायदा र तालिबान दुवै सन् १९८० को अन्त्यतिर अफगानिस्तानमा सोभियत सङ्घको आक्रमणविरुद्ध प्रतिकार र सन् १९९० को सुरुतिर अफगानिस्तानमा देखिएको आन्तरिक द्वन्द्वसँगै उदय भएका उग्रवादी समूह हुन् । आइएस स्टेट त्यसको वर्षौंपछि सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गरेपछि अलकायदाकै स्थानीय शाखाको अवशेषहरूबाट विस्तार भएर बनेको समूह हो ।

सन् २००७ मा इराकमा अमेरिकी फौज थपिएपछि निकै वर्षसम्म हराएको यो समूह सन् २०११ पछि फेरि देखिन थाल्यो । यो समूह सन् २०११ बाट युद्धग्रस्त सिरियातर्फ अघि बढ्यो । तालिबान, अलकायदा र आइएस स्टेटबिचको साझा विशेषता भनेको यी तीनै वटा समूह सुन्नी इस्लामका कट्टरपन्थी समूह हुन् । यी तीनै वटा समूह सामाजिक र राजनीतिक जीवनलाई धार्मिक जीवनसँग अलग गर्न नसकिने विश्वास गर्छन् । आस्थाको निम्ति हुने हिंसा उनीहरूका लागि जायज हो र यो उनीहरूको कर्तव्य पनि हो । जो लड्दैन, ती यी समूहका नजरमा खराब मुसलमान हो । 

अहिले तालिबानको चासो अफगानिस्तानमा मात्रै सीमित रहे पनि अलकायदा र आइएस स्टेटको विश्वव्यापी रूपमा छ । अलकायदा र आइएस स्टेटबिच केही महत्वपूर्ण कुरामा मतभेद भए पनि दुवैको चाहना विश्वभर मुस्लिम राज्य बनाउने रहेको छ । तालिबान, अलकायदा र आइएस स्टेटका केही साझा र केही फरक शत्रुहरू छन् । अमेरिका र पश्चिमा देशहरूका प्रमुख साझा शत्रु हुन् भने त्यसका सहयोगीहरू र राज्यलाई धर्मसँग अलग गरेका देशहरू पनि उनीहरूका साझा शत्रु हुन् ।

आइएस स्टेट सुरुदेखि नै अलकायदाभन्दा हिंस्रक रूपमा प्रस्तुत हुँदै आएको छ । यसले पश्चिमा देशहरूका अतिरिक्त विचारधारा नमिल्ने मुस्लिमहरूसँग पनि लडाइँ गरेको छ । यसले सिया र मध्यपूर्वका अन्य धार्मिक अल्पसङ्ख्यक समुदायमाथि पनि आक्रमण गर्दै आएको छ । अलकायदा सिया समुदायमाथि आक्रमण गर्नुलाई स्रोत र साधनको क्षति र निकै अतिवादी काम ठान्छ । आइएस स्टेटको अफगानिस्तान शाखा र तालिबान तेस्रो समूहको माध्यमबाट नजिक जोडिएका छन् । अफगानिस्तानको हतियारधारी हक्कानी समूह तालिबान र आइएस स्टेट दुवैसँग नजिक रहेको छ । अलकायदाले सन् २००१ मा अमेरिकामा आतङ्ककारी हमला गरेको थियो । उसले मध्यपूर्वस्थित इस्लामका पवित्र क्षेत्रहरू र साउदी अरबबाट अमेरिकी सेना फर्काउन चाहन्छ । 

आइएस स्टेट चाहिँ थप हिंसात्मक गतिविधिबाट उसका शत्रुहरूलाई तर्साउन चाहन्छ । उसले आमनरसंहार, सार्वजनिक स्थलमा हत्या र बलात्कार जस्ता गतिविधिबाट स्थानीयलाई आतङ्कित बनाउँदै आफूमा समाहित गर्ने कोसिस गर्छ । सन् २०१४ देखि २०१७ को बिचमा इराक र सिरियाका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको आइएस स्टेटले त्यसयता पश्चिमा कुर्दिस र रुससमर्थित सिरियाली फौजसँग हार बेहोरिरहेको छ । सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा आतङ्कवादी आक्रमण गरी १३० जनाको ज्यान लिएको आइएस स्टेटले सन् २०१९ मा सिरियाको आधार क्षेत्रमा पनि हार बेहोरेपछि यो समूह अदृश्य सञ्जालमा सीमित भए पनि अझै चुनौतीका रूपमा रहेको छ । अहिले रुसको राजधानी मस्कोमा गरेको आइएस स्टेटको यो आक्रमण रुसका लागि मात्र नभएर शान्तिप्रिय सबैका लागि चुनौती बनेको छ । 

Author

रामप्रसाद आचार्य