काठमाडौँ, चैत २२ गते । प्रतिनिधि सभाले निजामती सेवा विधेयकलाई संशोधनका लागि स्वीकृत गरेको छ । चैत १ गते सभामा पेस भएको विधेयक बुधबारको बैठकले संशोधनका लागि स्वीकृत गरेको हो ।
सभाले सर्वसम्मत रूपमा विधेयक संशोधनका लागि स्वीकृत गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीको प्रस्तावमा विधेयक संशोधनका लागि स्वीकृत भएको हो । विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले निजामती सेवालाई सुशासनमुखी बनाउने गरी अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । फागुन २१ गते विधेयक प्रतिनिधि सभा सचिवालयमा दर्ता गरिएको थियो ।
विधेयकले निजामती सेवालाई तहगत प्रणालीमा लैजाने प्रस्ताव गरेको छ । निजामती सेवाभित्र असमान रहेको अवकाशको उमेरहदलाई एकै बनाउने प्रस्ताव पनि विधेयकमा गरिएको छ । कर्मचारी अवकाशको उमेरहद ६० वर्ष बनाउने प्रस्ताव विधेयकमा गरिएको छ ।