फडिन्द्र अधिकारी
लेखनाथ, चैत २१ गते । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । बुधबार बिहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले दिउँसो संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुखले चैत २७ गते दिउँसो ३ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्त हुन दाबी पेश गर्न आह्वान गर्र्नुभएको छ । धारा २ मा दुई वा दुई बढी दलले बहुमतको सरकार बनाउने प्रावधान छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत जुटाउन नसकेपछि राजीनामा दिनुभएको थियो । ६० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ३१ संसदको समर्थन चाहिन्छ ।
गण्डकी प्रदेशमा कांग्रेसका २७ जना सांसद छन् । गण्डकीमा सत्ता गठबन्धनमा एमालेको २२ र माओवादी केन्द्रको सभामुखसमेत ८ सिट छ । यहाँ सरकार गठनका लागि २ सिट भएको राप्रपा निर्णायक मानिएको छ ।