• ८ वैशाख २०८१, शनिबार

मैथिली भाषामा रामायण

blog

काठमाडौँ, चैत २१ गते ।  मैथिली भाषामा पहिलो पटक रामायण प्रकाशित भएको छ । यसअघि नेपाली, हिन्दीलगायतका भाषामा प्रकाशित रामायण मैथिली भाषामा पहिलो पटक अर्चना झाले लेख्नु भएको हो । 

सो रामायण नेपाल र भारतमा मैथिली भाषीलाई लक्षित गरी रचना गरिएको अर्चनाकृत रामायणका रचयिता झाले बताउनुभयो । भगवान् राम र सीताका चरित्रका बारेमा जान्न चाहने, अध्ययन गर्न चाहने जोकोहीका लागि पनि मैथिली सरल भाषामा लेखिएको रामायणमा जनकपुरधामको गाथासँग पनि जोडिएको छ । 

मर्यादापुरुष राम र माता जानकीको जीवनगाथा गद्यात्मक शैलीमा लेखिएको छ । रचयिता झाका अनुसार यो रामायण अरू रामायणको भावानुवाद वा उल्था नभई तुलसी दासद्वारा रचित रामचरित्रमानस र संस्कृत भाषाको वाल्मीकि रामायणको अध्ययनपश्चात् त्यसका सार अनुसार रचना गरिएको छ । 

मैथिली भाषाको सो रामायण आठ वटा अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा बाल काण्डको व्याख्या गरिएको छ । पुरुषोत्तम राम र सीताको जन्म, शिक्षादीक्षा, माता सीतासँगको स्वयंवर र रामसीताको विवाहको कुरा व्याख्या गरिएको छ । 

दोस्रो अध्यायलाई अयोध्या काण्ड नाम दिइएको छ । सो काण्डमा रामको राज्याभिषेक, रामको वनबास, रामका पिता दशरथको स्वर्गबास, श्रवणकुमारको श्राप, भरत र कैकेयीबिचको संवाद, राम र भरतको मिलनलगायतका कुरा समेटिएका छन् । तेस्रो अध्याय करण्य काण्डमा शूर्पणखा रामको कुटीमा प्रवेशको घटना, पञ्चवटीमा माता सीताको हरण, मारिचको वधलगायतका विषयमा बेलिविस्तार गरिएको छ । चौथो  अध्यायलाई किष्किन्धा काण्ड, पाँचौँ अध्यायमा सुन्दर काण्डका रूपमा ब्याख्या गरिएको छ । 

सुन्दर काण्डमा वीर हनुमान लङ्का प्रवेश र अशोक वाटिकामा सीतासँगको संवादलगायतका विषय समेटिएका छन् । त्यसै गरी छैटौँ अध्यायलाई लङ्का युद्ध काण्डका रूपमा व्याख्या गरिएको छ । सो काण्डमा भारत र श्रीलङ्काबिचको सेतु बाँध निर्माण, रामेश्वरको स्थापना, लङ्कामा आक्रमण, रावणको वध, विभीषणको राज्याभिषेक, माता सीताको अग्नि परीक्षालगायतका विषय समेटिएका छन् । 

सातौँ अध्यायलाई उत्तर काण्डका रूपमा राखिएको छ । सो काण्डमा राम भरतको मिलाप, लवकुशको जन्म, भगवान् रामद्वारा अश्वमेघ यज्ञ, लवणासुरको वधलगायतका विषय समेटिएका छन् । आठौँ काण्डमा शूर्पणखाद्वारा सीतामाथि आक्रमण, सीता माता धर्तीभित्र विलीन भएका घटनाको चर्चा गरिएको छ । 

रामायणभित्र मैथिली भाषाका भजनकीर्तन, गीति श्लोकहरू पनि समावेश गरिएका छन् । हरेक काण्डको अन्तिमका विषयवस्तु सुहाउँदो र कथाले मागे अनुसारका मैथिली कला संस्कृतिका चित्रहरू राखिएका छन् । मैथिली संस्कार अनुसार दुलहा घरआँगनमा आइपुग्दा, स्वयंवर गर्दा, विवाह पूजा विधि चल्दा गाइने भाका पनि समावेश गरिएका रचयिता झाले जानकारी दिनुभयो । 

उहाँका अनुसार राम, सीता र हनुमानको आरतीसमेत समेटिएका रामायणमा पौराणिक कालका ग्रन्थमा प्रयोग हुने पुस्तक घेरा पनि राखिएका छन् । नेपाल र भारतमा महिलाद्वारा  यो पहिलो पटक रामायणको रचना भएको दाबी झाले गर्नुभयो ।