मीना कँडेल
कावासोती, चैत २० गते । पूर्वी नवलपरासीको कावासोतीमा रहेको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले विपन्न परिवारलाई निःशुल्क धारा जडान गर्न मिटर वितरण गरेको छ । संस्थाका अध्यक्ष दीपकराज लम्साल, कावासोती नगरपालिका–८ का वडाध्यक्ष भीमबहादुर रिमाल ‘गोकर्ण’ लगायत सम्पूर्ण पदाधिकारीले संयुक्त रूपमा ३२ घरधुरी विपन्न परिवारलाई मिटर हस्तान्तरण गर्नुभएको थियो ।
कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दीपकराज लम्सालले वडामा रहेका दुई हजार ५९५ घरधुरीमध्ये ४४ घरधुरी शुद्ध खानेपानीबाट वञ्चित रहेको जानकारी प्राप्त भएको भए पनि निःशुल्क धारा पाऊँ भनी ३२ जनाले मात्रै फाराम भरेको हुनाले सबै जनालाई निःशुल्क धारा जडान गर्न मिटर वितरण गरिएको र बाँकी रहेका परिवारलाई पनि यस कार्यमा समावेश गरिने बताउनुभयो । उहाँले धारा जडान, मिटर बक्स, पाइपलगायत जडान गर्दासम्म निःशुल्क हुने गरी धारा वितरण भएको बताउनुभयो ।
धारा जडान गर्न १५ हजार ९२५ रुपियाँ शुल्क रहेकामा १० हजार रुपियाँ कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले र बाँकी रकम ८ नम्बर वडाबाट सहयोग भएको छ । अध्यक्ष लम्सालले धारा जडान गर्न नसक्ने विपन्न परिवारलाई धारा जडान गर्ने काम थालनी भएको बताउनुभयो ।
वडाध्यक्ष भीमबहादुर रिमालले वडाको बन्देउरी क्षेत्रका बासिन्दा शुद्ध खानेपानीबाट वञ्चित रहेको बताउनुभयो । त्यहाँ खानेपानीको पाइपलाइन अहिले विस्तार गरिएको रिमालले जानकारी दिनुभयो । शुद्ध खानेपानीबाट कोही पनि वञ्चित हुनुहुँदैन भन्ने उद्देश्यले शुद्ध खानेपानी पु¥याउनका लागि खानेपानी संस्थाले करिब पाँच लाख रुपियाँ खर्च गरेको उहाँले बताउनुभयो ।
कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका उपाध्यक्ष बिन्दु ढकालले कावासोतीका बासिन्दा कोही पनि सफा खानेपानीबाट वञ्चित हुन नहुने भन्दै सबै वडासँग सहकार्य गरी धारा वितरण गर्न सहयोग गर्ने बताउनुभयो । आफ्नो धारा नहुँदा अरूको धाराबाट सबमिटरबाट शुल्क तिर्ने गरेको र अहिले आफ्नै घरमा धारा जडान गर्दा खुसी लागेको स्थानीय बताउँछन् ।