• १० पुस २०८१, बुधबार

व्यास नगरपालिकाद्वारा राजमार्ग विस्तारमा सहयोग गर्न आग्रह

blog

तनहुँको सदरमुकाम दमौलीको भोर्लेटारचोकमा भत्काइएको तथा नभत्काइएका घरहरू । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, चैत १९ गते । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा खण्डको काम तनहुँको सदरमुकाम दमौलीमा राजमार्गको क्षेत्राधिकार भित्र रहेको घर भत्काउन ढिलाइ हुँदा प्रभावित भएको छ । राजमार्गको अन्यत्र काम धमाधम भइरहेपनि दमौलीमा सडक विस्तार हुन सकेको छैन । 

अधिकांशले घर भत्काउन आलटाल गरेपछि सोमबार व्यास नगरपालिकाले प्रेस विज्ञप्ति प्रकाशित गरी तुरुन्त घर भत्काएर निर्धारित समयमा काम पुरा गर्न सहयोग गर्न आग्रह गरेको छ । व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेलेद्वारा जारी विज्ञप्तिमा संरचना हटाउन ढिलाइ भएको प्रति नगरपालिकाको ध्यानाकर्षण भएको जनाइएको छ । 

सडक विस्तार अभियानमा सडक अधिकार क्षेत्रभित्रका संरचना हटाउन आयोजनाको तर्फबाट क्षतिपूर्ति समेत उपलब्ध गराइएको छ । दमौली बजार अन्तर्गत वडा नं.२ र ४ का केही घरहरूले सडक अधिकार क्षेत्रका संरचनाहरू हटाई सहयोग पुर्‍याउनुभएकोमा त्यस्ता घरधनी सामाजिक सङ्घ-संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ । साथै अझै केही घरधनीहरू सम्पर्कमा नआएका, केही घरधनीहरूले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गर्नु भएको प्रति नगरपालिकाको ध्यान आकर्षण भएको जनाइएको छ । अब केही महिनापछि वर्षा लाग्ने भएकाले सडक निर्माण कार्यलाई तीव्रता दिई सहरको सौन्दर्यता र धुलोले वातावरणमा पुर्‍याएको असरलाई कम गर्न सबै सरोकारवाला घरधनीहरूलाई २०८० चैत महिनाभित्रै आयोजनामा सम्पर्क राखी आ–आफ्नो मुआब्जा रकम बुझ्न तत्काल सडक क्षेत्रका घर संरचना हटाई सडक विस्तार, विद्युत पोल स्थानान्तरण कार्यमा सहयोग गर्न आग्रह गरिएको छ । यस कार्यको लागि सहजीकरण गरिदिनु हुन सामाजिक सङ्घ-संस्था, राजनैतिक दल, सुरक्षा निकाय समक्ष नगरपालिकाले आग्रह गरेको छ । 

पूर्वी खण्डको कामका लागि वि.स २०७७ माघ १७ गते सम्झौता भई वि.सं. २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । काम थालिएको लामो समयसम्म बजारको घर नभत्काउँदा यहाँका सडक धुलाम्मे बनेका छन् । सडकमा उडेको धुलोले सवारी साधन प्रयोगकर्तादेखि सडक यात्रु र छेउछाउमा बसोबास गर्नेहरूलाई सास्ती भएको छ । सडक नजिकका बस्तीहरूमा धुलोले असर गरेपछि स्थानीय बासिन्दा आक्रोशित छन् । मुआब्जा समेत निर्धारण गरिसकेकोले चाँडै भत्काएर राजमार्ग विस्तारको काम मद्दत गर्नुपर्ने पूर्वी खण्डका प्रमुख इन्जिनियर श्यामकुमार यादवले बताउनुभयो ।

सडक अतिक्रमण गरी बनाइएका घर नभत्काउँदा आयोजनाको समय अवधि लम्बिने र लागत मूल्य बढ्ने भएकोले गम्भीर हुनुपर्ने यादवले बताउनुभयो । यादवले भन्नुभयो, "आयोजनाले चिठी लेखेर पटक पटक भत्काउन आग्रह गरेका छौँ, तर खाली गर्नुभएको छैन ।" ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिनेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।