• १३ साउन २०८१, आइतबार

म्याग्दीको बिममा पक्की पदमार्ग निर्माण

blog

म्याग्दी, चैत १९ गते । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँमा पक्की पदमार्ग निर्माण भएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर भएको डाडागाउँका टुकमान जुग्जालीले बताउनुभयो । 

“उकालो, ओरालोमा हिँडडुल गर्दा चिप्लिएर लड्ने, भारी बोकेर हिँड्न गाहे भएको थियो”, उहाँले भन्नुभयो, “पक्की पदमार्गले गाउँलाई सफा र स्थानीयवासीलाई सहज बनाएको छ ।” पदमार्ग बनेपछि बिम र डाँडागाउँमा ३०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । 

बालबालिका र ज्येष्ठ नागरिकलाई आवतजावत र हिँडडुल गर्न सहज भएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा बिनियोजन गरेको रु ३० लाख बजेटबाट पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष शरणकुमार जुग्जालीले बताउनुभयो । 

“बिम तल्लो गाउँमा ४२५ मिटर र डाँडागाउँमा २५० मिटर पदमार्ग बनाएका छौँ”, उहाँले भन्नुभयो, “तेर्सोमाढुङ्गा बिछ्याएर र उकालोमा सिँढी चिनेर ढलान गरिएको छ”, १ दशमलव १० मिटरदेखि १ दशमलव २० मिटर फराकिलो पदमार्ग निर्माण भएको छ । पदमार्गमा मोटरसाइकल र साइकल पनि हिँडाउन सकिन्छ । 

माटे पदमार्गमा बर्सात हुँदा हिलो र सुक्खामा धुलोको समस्या थियो । ढलान गरेको पदमार्ग सरसफाइ गर्न सहज भएको छ । बिम र डाँडागाउँ धार्मिक पर्यटकी स्थल मालिका र प्रभु चेला धुरीको फेदीका बस्ती हुन् । मालिका र प्रभुचेला जाने पर्यटक तथा भक्तजन बसोबास गर्ने बिम र डाँडगाउँको पृष्ठभूमिमा गुर्जा हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । सरसफाइमा नमूना बनाउने उद्देश्यले गाउँभित्रको पैदलमार्गलाई पक्की बनाउन बजेट बिनियोजन गरेको स्थानीयवासीसमेत रहनुभएका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो । 

प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री समेत रहनुभएका जुग्जालीले खारा–बिम सडक स्तरोन्नतिका लागि रु २० करोड बजेट स्रोत सुनिश्चितता भएको र सो योजनाबाट बिम र गाउँगाउँको बस्तीभित्रको सडकलाई कालोपत्र गरिने बताउनुभयो ।