• २५ वैशाख २०८१, मङ्गलबार

गुजरातले दियो नेपाललाई ९९ रनको सहज लक्ष्य

blog

काठमाडौँ, चैत १८ गते । एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक गुजरात क्रिकेट सङ्घले जितको लागि नेपाललाई ९९ रनको सहज लक्ष्य दिएको छ । 

गुजरातस्थित वापीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा सबै विकेटको क्षतिमा ९८ रन बनायो । गुजरातका लागि ओपनर रुद्र पटेलले २२ बलमा २३ रन बनाउनुभयो । यस्तै हेमंग पटेलले २०, अभिषेक देसाइले ११ र स्मित पटेलले १० रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

गुजरातलाई सस्तैमा समेट्न नेपालका गुलशन झाले चार ओभरमा २२ रन खर्चिँदै चार विकेट लिनुभयो । यस्तै करन केसीले ३.२ ओभरमा २२ रन खर्चिएर तीन विकेट लिनुभयो । सोमपाल कामीले एक विकेट झार्नुभयो ।

प्रतियोगितामा नेपाल, गुजरात र बरोडा क्रिकेट सङ्घको सहभागिता छ । नेपालले टी–२० विश्वकपको तयारीका लागि फ्रेन्डसिप कप खेलेको हो । अप्रिल ७ तारिखसम्म हुने प्रतियोगितामा नेपालले अप्रिल ३ मा पुनः गुजरात तथा अप्रिल २ र ५ मा बरोडासँग खेल्नेछ ।

लिग चरणमा एक अर्कासँग दुई खेल खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । त्यसपछि नेपाली टोलीले ओमानमा एसिसी प्रिमियर कप खेल्नेछ । प्रिमियर कप पनि नेपाली टोलीका लागि विश्वकपको तयारीका लागि राम्रो अवसर हुनेछ ।

नेपाली टोली भर्खर घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ विरुद्ध दुई खेलको टी–२० सिरिजमा ‘क्लिन स्विप’ गरेर भारत भ्रमणमा निस्किएको हो । टी–२० विश्वकप आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्टइन्डिजमा हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स  छन् । 

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, अनिल साह, कुशल मल्ल, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी र  अविनाश बोहरा ।