मीना कँडेल
कावासोती, चैत १८ गते । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ मा रहेको आँपचौर खानेपानी आयोजनाको काम अलपत्र परेको छ । खानेपानी योजना निर्माणको जिम्मा पाएको प्रकृति कश्यप समीर जेभीले काम नगरिदिँदा अलपत्रमा परेको हो । तीन वर्षमा ४० प्रतिशत मात्र निर्माण कार्य सम्पन्न गरेको प्रकृति कश्यप समीर जेभीका ठेकेदार सम्पर्कमा नआएपछि दुई वर्षदेखि खानेपानी आयोजनाको कामले गति लिन सकेको छैन । खानेपानी योजनाको यसअघि निर्माण गरिएको संरचनासमेत जीर्ण बन्दै गएको छ ।
गैँडाकोट युवा क्लबको अगुवाइमा २०५७ सालमा देवचुलीमा खानेपानी संस्था स्थापना गरी खानेपानी वितरण गर्दै आएको थियो । पछि थप व्यवस्थित गर्न आँपचौर, लामपाते र कालिका खानेपानी एकीकृत भई विस्तृत परियोजना प्रस्ताव तयार गरी आँपचौर खानेपानी आयोजनाको प्रव्रिmया अघि बढाई आर्थिक वर्ष २०७६÷७७ मा बहुवर्षीय योजनाका रूपमा अघि बढाइएको खानेपानी आयोजनाले जनाएको छ । योजनाको कुल लागत तीन करोड ९६ लाख रुपियाँ रहेको छ ।
आँपचौर खानेपानी तथा सरसफाइ उपभोक्ता अध्यक्ष धनबहादुर क्षेत्रीले म्याद सकिन लाग्दासमेत निर्माण कम्पनीले काम सुरु नगरी सम्पर्कविहीन हुँदा आफूहरू समस्यामा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा पानी छैन, खोलामा पानी बगेर गएको छ । बजेटको सदुपयोग गरी काम गरे पानी घर घर पुग्ने थियो ।” तोकिएको समय सकिन तीन महिना बाँकी छ तर ठेकेदार सम्पर्कमा नआउँदा पैसा पनि फ्रिज भएर जान्छ कि भनेर स्थानीय चिन्तित भएको उहाँ बताउनुहुन्छ । साबिक रजहर–७, १ र २ हाल देवचुली–१६, सहरी क्षेत्र र वडा नं. १७ को कुजौली टोलका एक हजार ३१० घरधुरी यस खानेपानी आयोजनाबाट लाभान्वित हुने भए पनि स्वस्थ खानेपानीबाट वञ्चित रहेको स्थानीय तीर्थबहादुर केसीले बताउनुभयो । आँपचौर खानेपानी आयोजनाको काम समयमा सकिने हो भने यहाँका सात हजार ६९६ जनसङ्ख्याले खानेपानीको अधिकारबाट वञ्चित हुन नपर्ने उहाँको भनाइ छ ।
ठेकेदारले लापरबाही गरिदिँदा आयोजना अलपत्र परेको भन्दै समितिले खोजिदिन आग्रह गरेको छ । पटक पटक ताकिता गर्दासमेत ठेकेदार सम्पर्कमा नआएपछि खोजिदिनका आयोजना स्थलमा निर्माण गर्ने ठेकेदार कम्पनीको खोजीमा लेखेको ब्यानर नै टाँगेका छन् । योजनाको अन्तिम म्याद आउँदो असार मसान्तसम्म रहेको छ । योजना निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले आर्थिक अभाव भएको बताउँदै व्यवस्थापनमा समेत केही कमजोरी रहेकाले योजनालाई यसै साताबाट अगाडि बढाउने जनाएको छ ।