• ११ मंसिर २०८१, मङ्गलबार

युग सुहाउँदो नेतृत्व

blog

भनिन्छ, समाजवादको विश्वव्यवस्था सिद्धान्त अनुसार मेट्रापोलिसले स्याटलाइटलाई आफ्नो छातामुनि राखेको हुन्छ । अर्थात् (कोर) मध्यले (पेरिफेरि) पृष्ठलाई आफ्नो नियन्त्रणमा राखेको हुन्छ । अहिलेको २१ औँ शताब्दीमा विश्व भूमण्डलीकरणको अवस्थाले केही हदसम्म परिवर्तन भइरहेको आभास हुन्छ । सामाजिक रूपमा उपरिसंरचनाले विशेषतः दैनिक सूक्ष्म जीवनलाई अभिमुखीकरण गरिरहन्छन् भन्ने मान्यतालाई अहिले विश्वमा उदाउँदा नयाँ विचार र नयाँ नेतृत्वले विश्व राज्यव्यवस्थालाई प्रभावित पारिरहन सक्छ भन्ने तथ्य साबित हुँदै गएका छन् । 

भूमण्डलीकरण (ग्लोबलाइजेसन) ले स्थानीयता (लोकलाइजेसन) लाई प्रभावित पारिरहन्छ । अहिलेको सूचना र प्रविधिमा आएको उल्लेखनीय विकाससँगै विश्व एक सानो गाउँमा परिवर्तन भइसकेकाले विगतको अवस्थामा फेरबदल भएको छ । अहिले स्थानीयताले पनि भूमण्डलीकरणलाई कहीँ न कहीँ प्रभावित परिरहेको हुन्छ । त्यसैले समाजवादी संरचनाको यथार्थतावाद न हिजो जस्तो ग्लोबल नै छ न त ९० को दशकमा जस्तो लोकल नै छ । अहिले ग्लोकल अर्थात् ग्लोबलसँगै लोकल पनि छ भनेर समाजशास्त्रीले व्याख्या र विश्लेषण गर्न थालेका छन् ।

नेपालको युग सुहाउँदो प्रचण्ड युगलाई समयसापेक्षताको सिद्धान्तमा आधारित भएर अहिलेको सत्ता समीकरण र यसले ल्याएको वैश्यिक प्रभावलाई यहाँ प्रस्तुत गर्ने जमर्काे गरेको छु । देश र भूगोल ठुलो वा सानो हुनाले तात्त्विक रूपमा कुनै अर्थ राख्दैन । युग सुहाउँदो विचार र नेतृत्वको कसीमा खरो उत्रनु सक्ने नेताको सक्षमता, दक्षता र भविष्यद्रष्टाका कारणले सो देश र नेता कतिको शक्तिशाली छ भन्ने मापन गर्न सकिन्छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले पनि सोही अनुसार दिशानिर्देश गरेको देखिन्छ । राजनीतिक इच्छाशक्ति दृढ हुन सके र स्वच्छ छविका साथ देश र जनताका लागि दूरगामी महत्वसहित राष्ट्रिय भावनाले ओतप्रोत भएर केही गरुँ भन्ने हुटहुटीलाई सोही अनुसार अगाडि बढाउन सके अवश्य पनि सफल भइन्छ भन्ने कुराको पुष्टिसमेत भएको छ । 

विगतका गठबन्धनका सहयात्रीलाई अग्रगमनको मझदारमा छोडेर उहाँ एक्लै अगाडि बढ्नुभएको पक्कै होइन । जुन उद्देश्यले समृद्धि, विकास, सुशासन, सामाजिक न्याय, समाजवादउन्मुख लोकतन्त्र र सङ्घीयता कार्यान्वयन गर्न गठबन्धन निर्माण गरिएको थियो, सो अनुसार नगएकै कारणले अल्पआयुमै सो गठबन्धनको बन्धनबाट नेपाली जनतालाई मुक्ति दिलाउनुभएको हो । सरकारले ल्याएका नीति तथा कार्यक्रमलाई पूर्णतः सफल हुने दिशामा क्रियान्वयन गराउने प्रधानमन्त्री प्रचण्डको हुटहुटीलाई साथ दिने मित्रशक्तिले नबुझ्दा र बुझ्दा बुझ्दै पनि सहयोग गर्न आनाकानी गरेका कारणले उहाँले यस्तो कदम उठाउन बाध्य हुनुभएको हो । उहाँ रणनीतिसम्म पुग्ने कार्यदिशाका लागि कार्यनीतिलाई दायाँबायाँ गरेर आफ्नो सुस्पष्ट मार्गमा आफूसँगै अन्य साझेदारी दललाई पनि एकताबद्ध गरेर लैजाने हिम्मत गर्नुहुन्छ । जसको कारणले कहिले दक्षिणपन्थको सहारा त कहिले वामपन्थको सहारा लिनुहुन्छ । उस्तै प¥यो भने छलाङ्मय गतिमा आफ्ना गतिविधि गर्न कतैबाट अवरोध गरिए भने सरकार, सदन र सडकका तीन वटै मोर्चामा रहेर पनि उहाँले जनतासामु आफ्ना कुरा प्रत्यक्ष रूपमा राख्नुहुन्छ । महाविपत्तिको सामना गर्नैपर्ने बाध्यता आई परे भने क्रान्तिकारी पार्टीसँग समीकरण, संयुक्त मोर्चा, गठबन्धन र पार्टी एकता गरेर क्रमभङ्ग गर्ने आँट कसैसँग हुन्छ भने उहाँसँग मात्रै त्यस्तो विशेषता देखिन्छ ।

नेपालको समकालीन इतिहासमा जिउँदा र आफ्नो सैद्धान्तिक विचारलाई विश्वसामु व्यावहारिक रूपमा पुष्टि गर्न सक्ने हैसियतमा कोही हुनुहुन्छ भने प्रचण्ड मात्र हुनुहुन्छ । हुन त नेपालमा बिपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मदन भण्डारीलगायतले पनि आआफ्नै विचारलाई जन्माउनु भयो तर अहिलेसम्म करिब चार दशकदेखि नेपाली समाजवादी (कम्युनिस्ट) विचारधाराको नयाँ प्रयोगको रूपमा एक अब्बल राजनीतिज्ञको रूपमा उहाँले आफूलाई प्रमाणित गर्दै आउनुभएको छ । जनयुद्ध वा सशस्त्र क्रान्तिको थालनी गरेर देशको ८० प्रतिशत भूभागको नेतृत्व मात्र गर्नुभएको  होइन नेपालबाट विश्वक्रान्तिको झन्डा फहराउन सक्ने नयाँ दिशाबोधसहित माक्र्सवादको चौथो शृङ्खलाका रूपमा प्रचण्डपथलाई जन्माउनुभएको छ । शान्तिवार्ताको एक प्रमुख हस्ताक्षरकर्ता हुँदै विश्व राजनीतिक शक्ति सन्तुलनमा आएको फेरबदलका कारण रणनीतिसम्म पुग्न सोही अनुसार कार्यनीतिलाई पनि परिवर्तन गर्दै ठोस वस्तुको ठोस विश्लेषण गरेर जानु पर्छ भन्ने उहाँ स्पष्ट प्रखरवक्ता हुनुहुन्छ ।

जनयुद्ध लडेदेखि नेपाली राजनीतिक परिदृश्यमा यो वा त्यो रूपमा प्रत्यक्ष /परोक्ष रूपमा उहाँको पदचापलाई कसैले पनि बेवास्ता गर्न सकेको छैन । अहिले आएर तेस्रो दलको हैसियतमा रहे पनि उहाँले आफ्नो अनुकूलतामा आफ्नो विचार र सिद्धान्तलाई नेपालमा व्यावहारिक रूपमा प्रयोग गर्दै जानुभएको छ । यो व्यावहारिक प्रयोगवाद उहाँले नेपाल हुँदै अन्तर्राष्ट्रिय रूपमा पनि हस्तक्षेपकारी ढङ्गले सुरुवात गरिसक्नुभएको छ । ‘इतिहास जनताले बनाउँछ र त्यसको नेतृत्व नेताले गर्छ’ भन्ने भावनालाई एक इन्च पनि तल माथि नगर्ने हो भने जमेको राजनीतिक निकासका लागि उथलपुथल, क्रमभङ्ग, महान् विपत्ति र महान् छलाङ्गमय गतिमा सोही अनुसार हुन्छ । यस अर्थमा पनि देश वा पार्टी सानो हुँदैमा केही हुँदैन, विचार र सिद्धान्तसहित इच्छाशक्तिलाई समयानुकूल लागु गर्न सक्ने बहुआयामिक दृष्टिकोण चाहिन्छ । नीति र सिद्धान्त सही हुनु आवश्यक छ । त्यसलाई वस्तुगत परिस्थितिको विश्लेषण गर्दै अग्रगमनतिर दोहो¥याउनु पर्छ ।

हो, प्रधानमन्त्री प्रचण्डले केही वर्षअघि गर्नुभएको विजातीय गठबन्धनको स्थानमा अहिले कोर्ष करेक्सन गर्दै सजातीय समीकरणको नेतृत्व गर्नुभएको छ । नेपाली जनताले दिएको म्यान्डेट पनि नेपालमा समाजवाद मन पराउने पार्टीहरूको समीकरण र सो समीकरणको नेतृत्वमा समाजवादको आधारशिला निर्माण गर्न नीति तथा कार्यक्रमलाई हरेक निकायमा क्रियान्वयन गरोस् भन्ने ध्येय छ । फलस्वरूप उहाँको नेतृत्वमा रहेको समाजवादी मोर्चामा समेत नेपालको वामपन्थी आन्दोलनमा सक्रिय रहेको नेकपा (एमाले) लाई पनि समेट्ने प्रयासको थालनी भएको छ । यसअघि नै नेकपा (माओवादी केन्द्र) सहित जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव सी’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् । उहाँले विगत सँगै जनयुद्ध लडेका विभिन्न क्रान्तिकारी पार्टीहरूलाई पनि ध्रुवीकृत गर्दै मूलधारको शान्तिपूर्ण राजनीतिमा ल्याउने कसरतमा हुनुहुन्छ । 

उहाँले आन्तरिक र बाह्य राजनीतिका अन्तरविरोधलाई सही रूपमा पहिल्याउन सकेका कारणले १० वर्षे जनयुद्धलाई सात दलसँग संयुक्त मोर्चा निर्माण गर्दै शान्तिपूर्ण रूपमा क्रान्तिको विकास गर्नुभयो । पहिलो संविधान सभा चुनावमा पाएको बहुमतको सरकार सञ्चालन गरेर समाजवादी संविधान निर्माणको आधारशिला तयार, दोस्रो कार्यकालमा सरकारका गतिविधिलाई जनशैली अनुसार अनुसरण गर्ने र परिपक्व सरकार सञ्चालनका लागि कदम चाल्नुभयो । अहिले तेस्रो कार्यकालमा आएर उहाँले नयाँ संविधानको प्रस्तावना भएका समाजवादलाई व्यावहारिक रूपमा क्रियान्वयन गर्न मार्गप्रशस्त गर्नुभएको छ । 

यस्तै, उहाँले जनयुद्धको शङ्खघोष गर्दा र जनयुद्धताका अन्तर्राष्ट्रिय रूपमा आफ्नो विचार फैलाउनका लागि दक्षिण एसियाली माओवादी सङ्गठन ‘कम्पोसा’ र अन्तर्राष्ट्रिय क्रान्तिकारीको सङ्गठन ‘रीम’ लाई पनि नेतृत्व गर्नुभयो । अहिले सरकारको नेतृत्व गरिरहँदा ४५ वटा अल्पविकसित देश एलडिसीको नेतृत्व गर्दै औद्योगिक देशहरूले उत्सर्जन गर्ने कार्बनको कारणले कम कार्बन उत्सर्जन गर्ने देशलाई धेरै क्षति पुगेको भन्दै क्षतिपूर्ति पाउने नैसर्गिक अधिकार भनेर संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत हुनुभयो । यसरी पृष्ठ वा स्याटलाइटमा रहेको देशका नेताको विचार स्पष्ट छ भने मुलुकको मात्र होइन सिङ्गो विश्वलाई नै नेतृत्व गर्न सक्छ भन्ने दृष्टान्त उहाँले स्थापित गर्नुभएको छ । त्यसैले समाजवादी कोणबाट हेर्दा अहिलेको समीकरण समयसन्दर्भ मिलेको र सजातीय वर्गको रहेको देखिन्छ । उहाँले यो समीकरणलाई दीर्घकालसम्म अग्रगमनतिर दोहो¥याउन सफल हुने छ । छिमेकी देशलाई समानान्तर रूपमा विश्वासमा लिन सकेको र विश्व राजनीतिमा फेरबदल भएको शक्ति सन्तुलनलाई पनि उहाँले सूक्ष्म रूपमा विश्लेषण गर्नुभएको देखिन्छ । 

हालै, प्रधानमन्त्री प्रचण्डले विश्वभर चलेको इस्वी संवत्सँगै नेपालकै मौलिक संवत् नेपाल संवत्को मोबाइल एप र तिथिमिति डट कमलाई सरकारीस्तरबाट सञ्चालन गरेर अर्काे स्थानीयतालाई अर्थात् मौलिकतालाई बढावा दिनुभएको छ । नेपाल संवत्लाई सरकारी मान्यता प्रदान गरेर कामकाजमै प्रयोगमा ल्याउने निर्णय गर्नुले मौलिक संवत्लाई न्यायपूर्ण व्यवहार गरिएकाले नेपालको अपनत्व गर्ने गरिमा थपेको छ । राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले १९६१ साल वैशाखदेखि नेपाल संवत्लाई हटाए पनि सय वर्षपछि पुनः विसं २०६५ मा पहिलो पटक प्रधानमन्त्री हुनुभएका प्रचण्डले राष्ट्रिय संवत्को मान्यता दिनुभयो । उहाँ दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७३ सालमा सरकारी कामकाजी संवत्को रूपमा घोषणा गर्दै तेस्रो पटक प्रधानमन्त्री बहाल हुँदा सरकारी दस्ताबेजमा नेपाल संवत् उल्लेख गर्ने निर्णय गर्नुभएको हो । अहिलेको सत्ता समीकरणसँगै उहाँले केही दिनअघिदेखि मोबाइल एप र तिथिमिति डट कमलाई मान्यता दिनु चानचुने विषय होइन । साधारण जनता शङ्खधरले ११४४ वर्षअघि तत्कालीन काठमाडौँ र भक्तपुरका गरिब जनताको ऋणमुक्त गराएको स्मरण चलेको यस्तो संवत्लाई अख्तियार दिनु ग्लोबलमा चलेको इस्वी संवत् मात्र होइन स्थानीय (लोकल) संवत्को पनि औचित्य साबित गर्नुभएको हो । यो संवत् विगतमा चीन (तिब्बत) र भारतका विभिन्न राज्यहरूमा प्रचलनमा रहेका थिए । यस अर्थले पनि नेपाली मौलिकतालाई संरक्षण दिनु र प्रवर्धन गर्न नेपाली समाजका अर्थराजनीतिसँगै सांस्कृतिक पक्ष पनि उदीयमान रहेको सन्देश दिएको मान्न सकिन्छ ।

 

Author

उपेश महर्जन