• १३ मंसिर २०८१, बिहिबार

पीडामाथिको पीडाले गाउँ नै शोकमग्न

blog

दुर्घटनास्थलमा उद्धार गरिँदै ।

वसन्त पराजुली/नरेन्द्र ढकाल/गुणबहादुर रोका 

नारायणगढ/गोरखा/सुलीकोट, चैत १८ गते ।

दुःखीको घरमा मात्र तेरो बास हुने भए

हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।

नाट्यसम्राट् बालकृष्ण समको नाटक मुकुन्द इन्दिराको यो श्लोक दुःखमाथि थपिएको पीडा थपिँदा सम्झने गरिन्छ । त्यस्तै दुःखमाथि पीडा कुनै एक व्यक्तिलाई मात्र होइन गोरखा नगरपालिका–७ पौवाखेत गाउँलाई पुगेको छ । 

४० वर्षका क्यान्सरपीडित छोरालाई काठमाडौँस्थित पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरी काजकिरिया घरबाटै गर्न गोरखा हिँडेकी ७० वर्षीया आमासहित पाँच जना त्रिशूली तरेर जान नै पाएनन् । पाँच जना सवार बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा घटनास्थलमा नै मृत्यु भयो । 

चितवनको इच्छाकामना गाउँपालिका–५, पृथ्वीराजमार्ग सडक खण्डको सिमलधारा नजिक शनिबार बिहान ७:१५ बजे भएको दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । एक जना बेपत्ता छन् । 

मृत्यु हुनेमा ७० वर्षीया जुनकुरी रोका, ४१ वर्षीया जेठी छोरी हरिमाया रोका उपरकोटी, २८ वर्षीया कान्छी छोरी अन्जना रोका, नौ वर्षीय आगमन उपरकोटी र ज्वाइँ तथा चालक ३५ वर्षका अर्जुन सिर्मल रहेको प्रहरीले जनाएको छ । १८ वर्षका विवश रोका बेपत्ता छन्  । सबै मृतक एकै घर परिवारका आमा, छोरी, नाति, नातिनी र ज्वाइँ हुन् । 

शङ्कर रोकाको काठमाडौँमा दाहसंस्कार गरेर रोका परिवार र उहाँका आफन्त तीन वटा गाडी लिएर गोरखातर्फ आउँदै थिए । 

“राति ११ बजे हाम्रो काम सकियो, अब यहाँ किन बस्ने घर जाने भन्ने सल्लाह भयो,” शङ्करका काकाका छोरा प्रकाश रोकाले भन्नुभयो, “हामीसँगै दुई वटा ट्याक्सी थिए । एउटा माइक्रोबस भन्यौँ । एउटा ट्याक्सी अर्जुन ज्वाइँले चलाउनुभयो, अर्को मैले चलाएँ ।” 

दुई वटा ट्याक्सीमा परिवारका सदस्यहरू बसे । माइक्रोमा आफन्त र छरछिमेकीलाई राखियो । शङ्करको बिदाइपछि अमिलो मन बनाएर सवा ११ बजेतिर परिवार र आफन्तहरू गोरखा फर्किए । “बहिनी (अर्जुनकी श्रीमती) भान्जी, मेरा भाइकी छोरी, उनकी नानी र भाउजू (शङ्करकी श्रीमती) लाई मेरो गाडीमा राखेँ,” उहाँले भन्नुभयो, “ज्वाइँले चलाएको गाडीमा आमा, जेठी दिदी, भान्जा र कान्छी बहिनी चढ्नुभएको थियो ।” 

चार बजे तीन वटै गाडी चरौँदी आइपुगे र सबैले चिया खाए । १५/२० मिनेट आराम गरेपछि गाडी गुड्यो । त्यहाँबाट छुट्टिने बेला अर्जुन र प्रकाशबिच मुग्लिङमा रोक्ने सल्लाह भएको थियो । “ज्वाइँले सानो बाबुलाई खानेकुरा केही भएन, मुग्लिङमा गएर रोक्नु है भन्नुभएको थियो । हस् भनेर म अघि लागेँ,” प्रकाशले थप्नुभयो, “केही बेरमा मलाई माइक्रोले ओभरटेक गर्‍यो । म  सुरुमा मुग्लिङ आइपुगेँ, ज्वाइँ आइपुग्नुभएन  १०/१५ मिनेट सिट कोल्ट्याएर सुतेँ तर उहाँ आउनुभएन ।” अर्जुनले चलाएको ट्याक्सी नआएपछि प्रकाशले फोन गर्नुभयो । दुई पटक फोन गर्दा पनि नउठेपछि कतै रोकेर निदाउनुभएछ कि भन्ने लाग्यो । “मैले पाँच बजे दुई पटक उहाँलाई फोन गरेँ तर फोन उठेन, पाँच बजेर छ मिनेट जाँदा फेरि ज्वाइँले फोन गर्नुभयो । एक्कासि दाइ मलाई बचाउनुहोस् म डुब्न लागेँ भन्नुभयो, म त अक्क न बक्क परेँ,” उहाँले भन्नुभयो । 

अर्जुनले आफू दुर्घटनामा परेको स्थान बताउन सक्नुभएन । उहाँको आवाज पनि निकै सानो थियो । त्यसपछि प्रकाशले प्रहरीलाई खबर गर्नुभयो । प्रहरीले अर्जुनको मोबाइलको लोकेसन ट्र्याक गरी घटनास्थल पहिचान ग¥यो । 

प्रहरीलाई सम्पर्क गर्दा गाडी दुर्घटना भएको खबर पाएपछि आफन्तहरू निकै पीडामा परेका थिए । जुन गाडी दुर्घटना भयो, त्यही गाडीमा बाबुको दाहसंस्कर गर्ने छोरा, हजुरआमा, फुपूदिदीहरू रहेकाले आफन्तहरू रुन चिच्याउन थाले । गाडीमा सवार पाँच जनाको त्रिशूली नदीमा शव भेटिएको र एक जना बेपत्ता भएको खबरले आफन्त र सिङ्गो गाउँ नै शोकले अन्धकार भएको छ । 

“मृत्यु सत्य भए पनि कुनै कुनै मृत्यु असाध्यै पीडा दिने हुँदो रहेछ,” गोरखा नगरपालिका–७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले भन्नुभयो । एकै घर परिवारमा पाँच जनाको ट्याक्सी दुर्घटनमा मृत्यु हुँदा परिवार आफन्त कोही बोल्न सक्ने अवस्थामा नभएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार बेपत्ता भएका रोकायको प्रहरी टोलीले त्रिशूली नदीमा खोजी कार्य गरेको छ । “हामीले दुर्घटनाका कारण अध्ययन गरिरहेका छौँ । यसै भन्न सकिने आधार भेटिएको छैन,” उहाँले भन्नुभयो ।