• १२ साउन २०८१, शनिबार

हामी भविष्यलाई स्वर्ग बनाउँछौँ : राष्ट्रपति पौडेल

blog

देवघाटमा निर्माण गरिने ज्येष्ठ नागरिक भवनको शनिबार शिलान्यास गर्न आयोजित समारोहमा उपस्थित राष्ट्रपति रामचन्द्र पौडेललगायत ।

तनहुँ, चैत १७ गते। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिगामीको स्वर्ग अतीतमा हुने र लोकतन्त्रवादी तथा समाजवादीको स्वर्ग भविष्यतिर हुने बताउनुभएको छ। 

राष्ट्रपति पौडेलले तनहुँको देवघाट गाउँपालिकाको पवित्र धार्मिकस्थल देवघाटमा निर्माण गरिने ज्येष्ठ नागरिक भवनको शनिबार शिलान्यास गर्दै सो धारणा व्यक्त गर्नुभएको हो। 

“अहिले निराशा छ भनेर प्रतिगामीले हल्ला फैलाएका हुन्, प्रतिगामीको स्वर्ग अतीतमा हुन्छ, तर हामी लोकतन्त्रवादी र समाजवादीको स्वर्ग भविष्यमा छ, हामी भविष्यलाई स्वर्ग बनाउँछौ”, उहाँले भन्नुभयो। 

उहाँले विदेश  पलायन भएर यहाँ केही नभएको भनेर कुरा काट्नु पनि  अनुचित भएको बताउँदै भन्नुभयो, “हाम्रो देश पृथ्वीमै स्वर्ग छ, यसैलाई यही बसेर देश बनाउनुपर्छ, अब विदेश पलायन रोकिनुपर्छ।”


उहाँले गठबन्धन जो जता भए पनि विकासमा हामी एक हुनुपर्छ भनेर राजनीतिक दलका नेतालाई आफूले भन्ने गरेको स्मरण गर्नुभयो। 

तनहुँको गाईघाट क्षेत्रको विगतको अवस्थाबारे चित्रण गर्दै उहाँले पञ्चायतका कठिन दिनमा आफूहरू त्यहाँ सङ्गठन गर्न जाँदा गरिबी र अभावले खानसमेत नपाइने गरेको स्मरण गर्दै लोकतन्त्रपछि त्यस क्षेत्रले काँचुली फेरेको बताउनुभयो। 

राष्ट्रपति पौडेलले पवित्र तपोभूमि कालीगण्डकी र त्रिशूलीको  सङ्गम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवन पूर्वीय दर्शन र वेदान्त चिन्तनको छलफल गर्ने स्थल बन्ने धारणा व्यक्त गर्नुभयो। 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सो ज्येष्ठ नागरिक भवन निर्माण गर्न लागेको हो। भवनको लागत १५ करोड रुपियाँ रहेको छ।