• २९ वैशाख २०८१, शनिबार

वैदेशिक रोजगारीमा गएका एउटै पालिकाका सातको मृत्यु

blog

जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रको सहायता कक्ष । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, चैत्र १७ गते । तनहुँबाट विदेश गएका १५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाएकामध्ये एउटै पालिकाको मात्रै सात जना छन् । चालु आर्थिक वर्षको फागुन सम्ममा सो सङ्ख्यामा ज्यान गुमाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।

केन्द्रअन्तर्गत तनहुँकी संयोजक लुना रानाले चालु आर्थिक वर्षको साउन देखि फागुनसम्म आठ महिनाको अवधिमा सबैभन्दा धेरै भिमाद नगरपालिकाका सात जनाले ज्यान गुमाएका छन् । 

यसैगरी व्यास नगरपालिकामा चार, म्याग्दे गाउँपालिकामा दुई, देवघाट गाउँपालिकामा दुई र भानु नगरपालिकामा एक जना गरी १५ जनाले ज्यान गुमाएको लुनाले जानकारी दिनुभयो ।  यस वर्षको ६ महिनाको अवधिमा मात्रै १५ जनाले ज्यान गुमाएको उहाँले जानकारी दिनुभयो । 

रानाकाअनुसार गत वर्ष ३४ जना घाइते भएका थिए भने यस वर्षको फागुन सम्ममा ३७ जना घाइते भएका छन् । सन् २०१९–२० मा एक जना, २०२०–२१ मा १८, २०२१–२२ मा २४, २०२२–२३ मा १८,  आठ महिनाको अवधिमा १५ जना र अन्य जिल्ला भई तनहुँमा अस्थायी बसोबास गर्ने ३ जनाको मृत्यु भएको छ । पाँच वर्षको अवधिमा मृत्यु भएका ती परिवारले नौ करोड १२ लाख ९२ हजार दुई सय ६१ रुपियाँ क्षतिपूर्ति पाएका छन् ।

सन् २०१९–२०मा दुई लाख १० हजार, २०२०–२१ मा १ करोड ८६ लाख ५० हजार, २०२१–२२मा तीन करोड ६४ लाख आठ हजार, २०२२–२३मा दुई करोड ९३ लाख ९४ हजार दुई सय ६१, ६ महिनाको अवधिमा ४२ लाख र अन्य जिल्ला घर तनहुँमा अस्थायी बसोबास गर्ने तीन जनाले ६३ लाख रुपियाँ क्षतिपूर्ति पाएका छन् ।

त्यसैगरी तनावमा र अत्यधिक काम गर्ने लगायतले गर्दा उनीहरूको ज्यान गएको पाइएको केन्द्रले जनाएको छ । ठुलो रकम खर्चेर विदेश गएकोले धेरै आम्दानी गर्ने दबाबले गर्दा लगातार काम गर्दा पनि कतिपय घटना हुने केन्द्रकी परामर्शदाता गोमा तिवारी बताउनुहुन्छ । मुख्य रूपमा हृदयको गति बन्द (कार्डियाक एरेष्ट), हृदयाघात, कार्यस्थलमा दुर्घटना, सवारी दुर्घटना लगायतले गर्दा नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको केन्द्रले जनाएको छ ।  

केन्द्रका अनुसार  कामदारका मुख्य गन्तव्यका रूपमा मलेसिया, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन् । वैदेशिक रोजगारीलाई भरपर्दो र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले परामर्श दिँदै आएको छ । दैनिक राहदानी बनाउन आएका करिब एक सय जनालाई परामर्श दिने गरिएको केन्द्रका परामर्शदाता हर्षित गुरुङले बताउनुभयो ।