• २१ वैशाख २०८१, शुक्रबार

नेपालविरुद्ध दोस्रो जितसँगै आयरल्यान्ड ‘ए’ ले जित्यो सिरिज

blog

आयरल्यन्ड ‘ए’ को विकेट लिएपछि नेपाल ‘ए’ का खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, चैत १७ गते । नेपाल ‘ए’ विरुद्ध तीन खेलको टी–२० सिरिज आयरल्यान्ड ‘ए’ ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार नेपाललाई ४० रनले हराउँदै आयरल्यान्डले एक खेल अगावै सिरिज जितेको हो ।

जितसँगै आयरल्यान्डले सिरिजमा २–० को अग्रता लिएको छ । पहिलो खेलमा आयरल्यान्ड २१ रनले विजयी भएको थियो । जितका लागि दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल १७.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८४ रनमा समेटियो । 

नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन बनाउनुभयो । उहाँले २५ बलमा सात चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै बसिर अहमदले २७, कप्तान विनोद भण्डारीले २६, ओपनर लोकेश बमले २५, आरिफ शेखले १४, कमल ऐरीले ११ र पवन सरार्फले १० रन बनाउनुभयो ।

बलिङमा आयरल्यान्डका बेन ह्वइटले तीन विकेट लिनुभयो । यस्तै फिओन ह्यान्ड र थोमस मायसले दुई दुई तथा ग्रेथ डेनाली र म्याथ्यु फोस्टरले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय २४ रन बनाएको थियो । 

आयरल्यान्डका लागि कप्तान निल रकले ३४ बलमा सात छक्का र एक चौकाको सहयोगमा अविजित ७१ रन बनाउनुभयो । यस्तै पिटर मोरले २६ बलमा सात छक्का र तीन चौकाको सहयोगमा ६५, जेम्स म्याकोलुमले २६, फिओन ह्यान्डले अविजित १९, रोस अदैरले १७ र गेराथ डेनालीले १० रन जोड्नुभयो । 

बलिङमा नेपालका सागर ढकालले तीन विकेट लिनुभयो । कमलसिंह ऐरी र पवन सराफले एक एक विकेट झार्नुभयो । टी–२० सिरिजको अन्तिम खेल सोमबार हुनेछ । त्यसपछि दुई टोलीबिच एकदिवसीय सिरिज पनि हुनेछ ।