• १५ वैशाख २०८१, शनिबार

तस्बिरमा एसइई

blog

कन्या मन्दिर विद्यालयमा एसइई परीक्षामा सहभागी विद्यार्थी । तस्बिर : मनोजरत्न शाही

काठमाडौं, चैत १५ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु भएको छ  । राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर परीक्षा सञ्चालन भएको छ । 

पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको हो । परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा सहभागी हुन मुलुकभरबाट पाँच लाख चार हजार ४१४ जना परीक्षार्थीले रजिस्ट्रेसन फाराम भरेका छन् ।

सबैभन्दा बढी परीक्षार्थी काठमाडौँका ३८ हजार ८१३ जना र सबैभन्दा कम जापानका २३ जना रहेको पनि बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिनुभयो । तीमध्ये छात्राको सङ्ख्या दुई लाख ५० हजार ७७२ र छात्रको सङ्ख्या दुई लाख ५३ हजार ६२७ छ ।  परीक्षाका लागि देशभरि दुई हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । 


सबैभन्दा धेरै परीक्षा केन्द्र बागमती प्रदेशमा ४४१ वटा निर्धारण गरिएको छ । नेपाली भाषामा पढाइ सञ्चालन गरिरहेको जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएको छ । यस पटकबाट परीक्षार्थीको प्राप्ताङ्कलाई आठ वटा ग्रेडमा विभाजन गरेर नतिजा प्रकाशन गरिनेछ । 

गत वर्षसम्म नौ वटा ग्रेडमा नतिजा प्रकाशन गर्ने गरिएको थियो । यस पटकदेखि परीक्षार्थीले हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनतर्फ ४० प्रतिशत ल्याउनैपर्छ । दुई विषयसम्म ननग्रेडेड (एनजी) ल्याउनेलाई ग्रेड वृद्धिको मौका दिइनेछ । यस वर्षदेखि परीक्षा सञ्चालन हुने सातवटै विषयमा २५ अङ्कको आन्तरिक मूल्याङ्कन हुनेछ भने ७५ अङ्कको मात्रै सैद्धान्तिक परीक्षा हुनेछ । 



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।