• १५ वैशाख २०८१, शनिबार

आठ लाखभन्दा बढी विदेशीको आँखाको उपचार

blog

काठमाडौँ, चैत १५ गते । क्यान्सर, मुटु, मिर्गौलालगायतका जटिल रोगको उपचारका लागि नेपालबाट बिरामी विदेश जाने गर्छन् तर आँखाको उपचारका लागि भने ठुलो सङ्ख्यामा विदेशी नेपाल आउने गरेका छन् । 

नेपाल नेत्रज्योति सङ्घका अनुसार एक वर्षमा आँखा उपचारका लागि आठ लाखभन्दा बढी विदेशी नेपाल आएका छन् । नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेश मिश्रले सङ्घ अन्तर्गतका अस्पतालमा उक्त सङ्ख्यामा विदेशी बिरामी उपचारका लागि आउने गरेको जानकारी दिनुभयो । हाल सङ्घ अन्तर्गत २८ वटा आँखा अस्पताल र १५६ आँखा उपचार केन्द्र सञ्चालनमा छन् । तीमध्ये नेपाल नेत्रज्योति सङ्घ अन्तर्गतका मेची आँखा अस्पताल, विराटनगर आँखा अस्पताल, गेटा आँखा अस्पताल, सगरमाथा चौधरी आँखा अस्पताललगायतका आँखा अस्पतालमा उपचारका लागि विदेशी आउने गरेका छन् । 

डा. मिश्रका अनुसार सन् २०२३ मा मात्र आठ लाख पाँच हजार ३१६ जना विदेशी नागरिकले आँखाको उपचार गराएका छन् । तीमध्ये एक लाख ६१ हजार ५७४ जना विदेशीको शल्यक्रिया भएको छ । 

कार्यकारी निर्देशक डा. मिश्रले नेपालमा आँखा उपचार गराउन आउने विदेशीमध्ये ९० प्रतिशत भारतीय रहेको बताउनुभयो । उहाँले बाँकी १० प्रतिशत भने बङ्गलादेश, श्रीलङ्का, म्यान्मार, थाइल्यान्डलगायतका देशबाट आँखाको उपचार गर्न आउने गरेको बताउनुभयो । 

सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले थाइल्यान्डबाट समेत नेपालमा आँखा उपचारका लागि बिरामी आउन थालेको जानकारी दिनुभयो । डा. पन्तले थाइल्यान्डमा एक लाख ५० हजार रुपियाँ पर्ने सर्जरीलाई नेपालमा १४ हजारमा हुने गरेको जानकारी दिनुभयो । उहाँले नेपाललाई आँखा स्वास्थ्यको क्षेत्रमा उपचार पर्यटन (मेडिकल टुरिजम) को प्रबल सम्भावना रहेको जानकारी दिनुभयो । सरकारको सहयोग भएमा नेपालमा आँखा उपचारमा अब्बल बनाउन सकिने बताउनुभयो । 

कार्यकारी निर्देशक डा. मिश्रले कर्णाली प्रदेशमा सञ्चालित एकीकृत आँखा तथा कान परियोजनामार्फत सन् २०२३ सम्ममा कर्णाली प्रदेशका दूरदराजमा पुगेर छ हजार जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।